शुक्रबार, ३१ अक्टोबर, २०२५
04:15 | १०:००

जेनजी आन्दोलनले निजी क्षेत्रको करिब ८० अर्ब क्षति – महासंघ

नेपाली लिङ्क सेप्टेम्बर २१, २०२५

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको आन्दोलनमा देशभर निजी क्षेत्रको करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति पुगेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्।

आइतबार प्रधानमन्त्री सुशीला कार्की र निजी क्षेत्रबीच भएको छलफलमा ढकालले प्रारम्भिक रुपमा करिब ८० अर्ब बराबरको निजी सम्पत्तिमा क्षति पुगेको र यथार्थ मूल्यांकन भइरहेको बताएका हुन्।

महासंघले देशैभरको क्षति विवरण संकलन गरिरहेको र हालसम्म उपलब्ध तथ्यांक र सूचनाअनुसार निजी क्षेत्रको करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आँकलन रहेको उनले बताए।

अर्थतन्त्रको पुनर्निर्माण, नवनिर्माण र पुनरोत्थानका लागि निजी क्षेत्रले सरकारसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ। प्रधानमन्त्री कार्कीसँग भएको छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले निजी क्षेत्रले सम्मानित रूपमा काम गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग र सुरक्षाको अपेक्षा सरकारसँग रहेको बताए।

महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले गरेको अध्ययन अनुसार अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ भने ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको छ।

युवा पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रले ठूलो जनधनको क्षति बेहोरेको हुँदा दोषी माथि कारबाही हुनुपर्ने निजी क्षेत्रको माग छ। कारबाही हुन नसके दण्डहीनताको अवस्था सिर्जना भई निजी लगानी थप निरुत्साहित हुने तर्फ निजी क्षेत्रका प्रतिनिधिहरुले उक्त छलफलमा सरकारको ध्यानाकर्षण गराएका थिए।

युवा पुस्ताले चुस्त सरकारी सेवा चाहिरहेको बताउँदै अध्यक्ष ढकालले सूचना प्रविधिको उच्चतम प्रयोग र सदाचार काम गर्न सबैले पहल गर्नुपर्ने बताए। यसैगरी ब्याज सहुलियत र नयाँ संरचना निर्माण गर्न आवश्यक सामान ल्याउन प्रभावित व्यवसायीलाई भन्सार लगायत शुल्कमा छुट दिन पनि महासंघले आग्रह गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू