शुक्रबार, ३१ अक्टोबर, २०२५
04:15 | १०:००

राअवि प्रमुखमा कार्की नियुक्त, सिआईबीको जिम्मा केसीलाई

नेपाली लिङ्क सेप्टेम्बर २१, २०२५

काठमाडौँ । राज्यको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुखमा टेकेन्द्र कार्की नियुक्त भएका छन्। आइतबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले विभागको प्रमुखमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

नयाँ नेतृत्वका लागि एउटै ब्याचका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्की र ओमप्रकाश जोशी प्रतिस्पर्धामा थिए।

कार्की र जोशी यसअघि बिदा भएका प्रमुख हुतराज थापासँगै २०५३ पुस ५ गते निरीक्षक पदबाट सेवा प्रवेश गरेका हुन्।

जोशी कार्कीभन्दा डेढ महिना पहिले अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएका थिए। कार्की मुख्य अनुसन्धान निर्देशकमा ३ वर्ष रहनेछन्। गुप्तचरमा उमेर हद र पदावधिका कारणमात्रै अवकाश हुने व्यवस्था छ। कार्कीले पुरै कार्यकाल काम गर्न पाउनेछन्।

अनुसन्धान विभागलाई यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयबाट प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा ल्याएका थिए। कार्की नेतृत्वको सरकारले पुन: गृह मन्त्रालय मातहत ल्याउने चर्चा चलेको छ।

सीआईबीको जिम्मा एआईजी केसीलाई

यसैबीच नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई सरुवा गरिएको छ।

हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागको प्रमुख रहेका केसीलाई आइतबारको मन्त्रिपरिषद् बैठकले सीआईबीको जिम्मेवारी दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए।

यसअघिका सीआईबी प्रमुख समेत रहेका चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षक नियुक्त भएपछि रिक्त भएको पदमा यसअघिको सरकारले कुनै निर्णय नगरी राखेको थियो। भूमिकाविहीन जस्तै मानिने प्रदेश समन्वय विभागमा रहेका केसीलाई महत्वपूर्ण जिम्मेवारी दिने निर्णय भएको हो।

यसअघिको कांग्रेस एमाले सत्ता गठबन्धनले केसीलाई महत्वपूर्ण जिम्मेवारीबाट अलग राखेको थियो। केसीले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका कारण उनलाई निवर्तमान सत्ताले रिसिइवी साँधेको चर्चा थियो।

यसअघि एआईजी बढुवामा पनि उनलाई पछि पार्दै राजन अधिकारीलाई बढुवामा अगाडि ल्याइएको थियो। प्रहरीमा चार एआईजी रहेकामा केहीदिन अघि मात्रै मानव स्रोत विकास विभागका प्रमुख समेत रहेका एआईजी दानबहादुर कार्कीलाई काठमाडौँ उपत्यका प्रमुखमा सरुवा गरिएको थियो।

आधाभन्दा बढी एआईजी रिक्त हुँदा प्रहरीका महत्वपूर्ण विभागहरु रिक्त छन्। हाल एआईजीहरू केसी, अधिकारी र कार्कीसँगै सिद्धिविक्रम शाह कार्यरत छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू