शुक्रबार, ३१ अक्टोबर, २०२५
03:42 | ०९:२७

केन्द्रीय समिति भङ्ग गरेर विशेष महाधिवेशन गर्ने माओवादी अध्यक्ष प्रचण्डको प्रस्ताव

नेपाली लिङ्क सेप्टेम्बर २१, २०२५

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी पुनर्संरचनाका लागि मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिरमा विशेष महाधिवेशन गर्ने गरी केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेका हुन्।

बैठकलाई सम्बोधन गर्दै प्रचण्डले विशेष महाधिवेशनका लागि तयारी गर्न अबको एक साताभित्र केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने र लगत्तै महाधिवेशन आयोजक समिति गठन गर्ने बताएको एक पदाधिकारीले बताए।

‘केन्द्रीय समितिको बैठकबाट भएको अहिलेको अध्यक्षसहितका सबै पदाधिकारी, केन्द्रीय समिति, स्थायी कमिटी भङ्ग गरौँ’, प्रचण्डले बैठकमा गरेको प्रस्ताव उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘तलका कमिटीहरू पनि भङ्ग गरेर सबै कमिटीलाई आयोजक समिति बनाऔँ।’

केही दिनअघि भएको जेनजी विद्रोह र त्यसले दिएको सन्देशका बारेमा चर्चा गर्दै प्रचण्डले पार्टीको केन्द्रीय समितिमा युवालाई नेतृत्वमा ल्याउने गरी सबै कमिटीको अधिवेशन हुने र महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेगरी बैठकमा प्रस्ताव राखेको उनले बताए।

यस्तै प्रचण्डले चुनाव र महाधिवेशनको तयारी सँगसँगै लैजान पनि प्रस्ताव गरेको ती नेताको भनाइ छ। ‘मध्यावधि चुनावमा विगतमा भन्दा अलिकति फ्रेस ढंगले उम्मेदवारहरू छनोट गर्ने, वृहत छलफल गरेर प्रतिस्पर्धाको आधारमा उम्मेदवार अघि सार्ने र जनताले रुचाएका व्यक्तिहरू खोजेर सँगसँगै तयारी गरेर जाने भन्ने छ’, ती नेताको भनाइ छ।

प्रचण्डले अब सबै पदाधिकारी र केन्द्रीय समिति भंग गरेर आयोजक समिति राख्ने प्रस्ताव गरेको र उक्त प्रस्ताव केन्द्रीय समिति बैठकले पारित गरेपछि लागू हुने ती पदाधिकारीले बताए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू