बुधबार, जेठ २२, २०८२
11:56 | १६:४१

प्रमुख तीन दलको बैठकमा संसद् गतिरोध हटाउन प्रधानमन्त्रीले गरे आग्रह

नेपाली लिङ्क जुन २, २०२५

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको अवरोध अन्त्य गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा ओलीले संसद्को बैठक सञ्चालन गर्नुपर्ने विषयमा आफ्नो धारणा राखेको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

“सत्तापक्षका तर्फबाट सदन खोल्नुपर्छ भन्ने आयो, प्रधानमन्त्रीले पनि यो विषय राख्नुभयो । गृहमन्त्री लगायतले पनि राजीनामा होइन, संसद् खोलेर अघि बढ्नुपर्छ भन्ने कुरा राख्नुभयो”, प्रमुख सचेतक पाण्डेले भने, “हामीले सुशासनको विषय महत्वपूर्ण हो भनेका छौँ । अरू नयाँ कुरा केही भएन, दलबीच छलफल गर्दै जाऔँ भन्ने भएको छ ।”

प्रमुख सचेतक पाण्डेले आफूहरूले राख्दै आएको विषयवस्तु यथावत् नै रहेको जनाउँदै ‘भिजिट भिसा’का विषयमा उठेको प्रश्नलाई छानबिन र अनुसन्धान गर्न गृहमन्त्रीले सहयोग गर्नुपर्ने मत राखेको बताए ।

बैठकमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेता सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू