नेपाल पुगेका न्यूजिल्याण्डका उपप्रधानमन्त्री भेटघाटमा व्यस्त


काठमाडौँ । नेपाल भ्रमणमा रहेका न्यूजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्नेतर्फ अग्रसर भएकाले यो लक्ष्य हासिल गर्न व्यापार, लगानी र विकास सहकार्यका लागि आग्रह गरेका थिए ।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको संकटबाट दुवै देश मारमा परेको बताउँदै हिमालय क्षेत्रको जनजीवन बचाउनका लागि मिलेर काम गर्न पनि आग्रह गरे । न्यूजिल्यान्डका पर्यटकले नेपाललाई एक पर्यटकीय गन्तव्य मुलुकको रूपमा पहिचान गरेको उनको भनाइ थियो ।
सो अवसरमा न्यूजिल्यान्डका उपप्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा नेपालले पु¥याएको योगदानको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धमा साना देशको भूमिका पनि महत्त्वपूर्ण हुनेमा आफूहरू विश्वस्त रहेको बताए ।
नेपाल न्यूजिल्यान्डका जनताका लागि रमणीय देश भएकाले भ्रमण गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले नेपाली विद्यार्थीका निम्ति छात्रवृत्ति वृद्धि गरेर नेपालसँग शिक्षा र विकासको सम्बन्ध सुदृढ गर्न आफूहरूले चाहेको जानकारी दिएका थिए ।
उता, प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटका अवसरमा दुई पक्षीय हित, आपसी सम्बन्ध र सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।
उनीहरुबीच कृषि, पर्यटन, शिक्षा, व्यापार र लगानीका क्षेत्रमा सहकार्यमा प्रशस्त सम्भावना रहेकामा समान मत थियो ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ स्थिरता, विकास, सुशासन, सामाजिक न्याय र सामाजिक रूपान्तरणलाई प्राथमिकता दिएको अवगत गराए ।
उपप्रधानमन्त्री पिटर्सले नेपालको विकास र समृद्धिका लागि भएका प्रयासको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा साना मुलुकहरूको साझा हितका विषयमा सहकार्य गर्न जोड दिए ।
भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए । सन् १९५३ मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपालका तेन्जिङ नोर्गे र न्यूजिल्याण्डका सर एडमण्ड हिलारीले सफल आरोहण गरेकाले पनि दुई देशबीचको सम्बन्ध नजिक भएको छ ।
उता, पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र न्यूजिल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री पिटर्सबीच पनि भेटवार्ता भएको छ । बुधबार साँझ काठमाडौंमा पराष्ट्रमन्त्री राणासहितको नेपाली प्रतिनिधि मण्डल र न्यूजिल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री पिटर्ससहितको प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको हो ।
भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा. राणाले छलफलमा कृषि, व्यापार, लगानी, पर्यटन, शिक्षा र बहुपक्षीय संलग्नतालगायत धेरै क्षेत्रहरूमा छलफल भएको बताइन् । दुई देशबीच घनिष्ठ, सौहाद्र्रपूर्ण र लामो समयदेखिको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनेबारेमा छलफल केन्द्रित रहेको उनले बताइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५