शुक्रबार, वैशाख २६, २०८२
21:56 | ०२:४१

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धीहरू राष्ट्रपति निवासमा

रासस मे ८, २०२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकबाट नेपाल आइपुगेका ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धीहरूलाई राष्ट्रपति निवास शीतल निवासमा बिहीबार एक कार्यक्रम आयोजना गरी स्वागत गरेका छन् ।

परोपकारी संस्था ‘इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को आयोजनामा नेपालमा जारी दुई रियालिटी शोका प्रतिस्पर्धीहरूलाई स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाली संस्कृतिलाई जीवन्त राख्न आ-आफ्नो स्थानबाट पहल गर्न आग्रह गरे ।

राष्ट्रपति पौडेलले विभिन्न मुलुकबाट नेपाल आएका प्रतिस्पर्धीहरू सांस्कृतिक दूत भएको उल्लेख गर्दै नेपाली संस्कृतिलाई विश्वव्यापीरूपमा नेपाली समुदायमा पुर्‍याउन इन्ट्रा फाउन्डेसनको प्रयासको प्रशंसा गरे।

नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट प्रत्येक साता बिहीबार र शुक्रबार मेरो भ्वाइस युनिभर्स प्रसारण सुरु भएको छ भने आइतबार र सोमबार मेरो डान्स युनिभर्स प्रसारण हुन थालेको छ ।

इन्ट्रा फाउन्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईले विश्वभरका नेपाली जातिलाई संस्कृतिको एउटै मालामा उनेर नेपालसँग जोड्न फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको सपनालाई यी रियालिटी शोले मूर्तरूप दिइरहेको जानकारी दिए ।

विश्वका ६० देशमा बस्ने नेपालीहरू यी कार्यक्रमसँग जोडिएको र २३ देशका नेपाली प्रतिभाहरू नेपाल ल्याइएको उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू