आइतबार, वैशाख २१, २०८२
20:46 | ०१:३१

टीकापुरमा सुविधा सम्पन्न पुस्तकालय बनाउन शुरु

नेपाली लिङ्क जनवरी २६, २०२५

टीकापुर, कैलाली– टीकापुर सरोकार समूहले वीरेन्द्र विद्या मन्दिर टीकापुरमा इलेक्ट्रोनिक लाइब्रेरीसहित अत्याधुनिक सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने भएको छ । विभिन्न समयमा टीकापुर र वरपर क्षेत्रमा सामाजिक एवं मानवीय कार्य एवं परियोजना गरिरहेको समूहले विद्यालयको स्वर्ण जयन्तीको अवसरमा पुस्तकालय स्थापना गर्ने भएको हो ।

विद्यालय सुधारको एउटा महत्वपूर्ण प्रस्थानविन्दु पुस्तकालय कार्यक्रम हो भन्ने महशुस एवं सरोकारवाला र विज्ञहरुले समेत पुस्तकालय आधुनिकीकरणले विद्यार्थीहरुको ज्ञान र क्षमता अभिवृद्धि गर्ने राय दिएकाले अत्याधुनिक पुस्तकालय निर्माण गर्न थालिएको समूहले एक विज्ञप्ति मार्फत जनाएको छ । जसमा पाठ्यक्रमसंग सम्बद्ध सहित सयौं महत्त्वपूर्ण पुस्तक, १० हजार बढी इ-बुक, कम्प्युटर तथा सफ्टवेयर र अन्य उपकरणहरु, बस्ने आरामदायी कुर्सी एवं पढ्ने टेबुल लगायत सुविधा स्थापित-जडान गरिनेछन् ।

उक्त अत्याधुनिक पुस्तकालय टीकापुर सरोकार समूहको संयोजन र नेपाल लाइब्रेरी फाउन्डेसनको प्राविधिक सहयोगमा सम्पन्न हुनेछ। पुस्तकालय निर्माणको ऐतिहासिक कार्यमा सहयोग गर्ने दाताहरुप्रति समूहका सचिव नवराज भट्टराईले धन्यवाद ज्ञापन गरेका छन् ।

पुस्तकालय विस्तार तथा आधुनिकीकरणका लागि प्रथम चरणमा डा. सुधीर रुपारेलिया, रुपारेलिया फाउन्डेसन, युगान्डा, अफ्रिकाले अमेरिकी डलर ५००० (नेरु ६८०,०००), मिनबहादुर रावल, टीकापुर रु ४ लाख र गगन फाउन्डेसन, टीकापुरले रु. एक लाख सहयोग गरेका छन् ।

यस सामाजिक कार्यमा अहोरात्र खटेर पुस्तकालय परिकल्पनालाई साकार बनाउने वीरेन्द्र विद्या मन्दिरका गुठियारहरु, प्राचार्य, शिक्षकहरु, युगान्डाका लागि नेपाल सरकारका मानार्थ महावाणिज्यदूत डा. सुधीर रुपारेलिया, टीकापुर विकास समितिका पूर्व अध्यक्ष मीन बहादुर रावल, यस योजनाका परिकल्पनाकार र समन्वयकर्ता टीकापुर सरोकार समूहका संरक्षक हिक्मत थापा, अध्यक्ष प्रशान्त अर्याल, सदस्य विकास रावल लगायत समूहका सदस्य, शुभचिन्तक, दाताहरु एवं टीकापुरका नागरिक लगायत समस्त सहयोगीमा टीकापुर सरोकार समूहले धन्यवाद ज्ञापन गरेको छ ।

यस पूण्य कार्यमा सहयोग गर्ने डा. सुधीर रुपारेलिया युगान्डाका लागि नेपालका अवैतिनिक वाणिज्य दूत हुन् । उनी युगाण्डाको सबैभन्दा ठूलो औद्योगिक एवम् ब्यापारिक प्रतिष्ठान रुपारेलिया ग्रुपका अध्यक्ष हुन् । मीनबहादुर रावल टीकापुर नगर तथा वीरेन्द्र विद्या मन्दिर स्थापनामा योगदान दिने प्रमुख व्यक्तित्वमध्ये एक हुन्। टीकापुर विकास समितिका पूर्व योजना प्रमुख रावल विद्वान, सामाजिक चिन्तक, कुशल योजनाविद तथा ब्यवस्थापक हुन् ।

त्यसैगरी गगन फाउन्डेसन स्वर्गीय साहित्यकार तथा समाजसेवी गगनसिंह थापाको स्मृतिमा स्थापित सामाजिक संस्था हो । थापाका कर्णालीको छेउछाउ, पुर्खाको चिठी, अस्ताचलको ढोकाबाट लगायत नौ वटा साहित्यिक कृति प्रकाशित छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू