शनिबार, कार्तिक १०, २०८१
15:55 | २०:४०

दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थीहरुको सम्मेलन शनिबार

नेपाली लिङ्क जुन १५, २०२४

सोल, कोरिया – दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थीहरुको संस्था ‘सोनसिक’ ले यही शनिबार तथा आइतबार ( १५ तथा १६ जुन) दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको छ ।

नामसेउल विश्वविद्यालयसंगको सहकार्य तथा दक्षिण कोरियास्थित नेपाली राजदूतावासको सहयोगमा आयोजना गर्न लागिएको सम्मेलनमा विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने छन्।

बिहीबार एक भर्चुअल पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सोनसिकका अध्यक्ष डा मेघनाथ पौडेलले ‘सहकार्यपूर्ण नेतृत्वः दिगो विकासका लागि अन्तर विषयगत नवप्रवर्तन र वैज्ञानिक उत्कृष्टताको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ सम्मेलन गर्न लगिएको जनाए ।

उनले सम्मेलनलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ, नेपाली राजदूत प्राध्यापक डा. ज्योति प्याकुरेल, नामसेउल विश्वविद्यालयका अध्यक्ष प्रा डा युन सुङ योङ र स्टडी इन कोरिया सेन्टरका टिम निर्देशक प्रा डा किम ना युनले सम्बोधन गर्ने जानकारी दिए ।

सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका जैविप्रविधि विशेषज्ञ प्रा डा निरञ्जन पराजुलीले ‘साझा दिगो भविष्यतर्फको यात्रा’ र सेजोङ विश्वविद्यालय दक्षिण कोरियाका सह प्राध्यापक डाक्टर लेविस एन्केन्येरेले ‘दिगो विकासका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरुको रोजाईः एआई र साइबर सुरक्षाको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

यसैगरी अध्ययनका लागि दक्षिण कोरियामा अवसर र चुनौतीहरुका बारेमा सुजन शाक्यको पनि प्रस्तुति रहने कार्यक्रम संयोजक किरण सुवालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

२००४ सालमा स्थापना भएको सोनसिकले आयोजना गर्दै आएको शैक्षिक सम्मेलनको यो दशौं संस्करण हो । सन् २००७ देखि इपिएस योजना अन्तर्गत नेपाली कामदारहरु जान थालेपछि कोरिया अध्ययनका लागि भन्दा पनि श्रम गन्तव्यका रुपमा परिचित भएकाले यस्ता कार्यक्रमले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अहिले दक्षिण कोरियामा झण्डै साढे ६ हजार नेपाली विद्यार्थी अध्ययनरत रहेको पनि जनाइएको छ । कोरियाले उच्च शिक्षाका लागि छात्रबृत्ति पनि प्रदान गर्दै आएको छ ।

सम्मेलन आयोजक समितिकी सदस्य डा कमला केसीले संचालन गरेको पत्रकार सम्मेलनलाई वैज्ञानिक समितिका अध्यक्ष डा देवी बस्नेत, प्रा डा सिर्जना थापा लगायतले सम्बोधन गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू