शनिबार, कार्तिक १०, २०८१
15:54 | २०:३९

यमनमा अमेरिका र बेलायतको संयुक्त आक्रमणपछि हुथी विद्रोही पनि प्रतिकारमा

रासस/एएनआई जुन १, २०२४

तस्विर रोयटर्स

साना (यमन), जेठ १९ गते । यमनमा अमेरिका र बेलायतले हालै गरेको घातक आक्रमणको जवाफमा हुथी समूहले लाल सागरमा संयुक्त राज्य अमेरिकाको जहाजमा मिसाइल आक्रमण गरेको छ ।

यमनको होदेइदाह प्रान्तमा अमेरिका र बेलायतको संयुक्त आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको समूहको दाबीपछि हुथी सैन्य प्रवक्ता याह्या सारीले शुक्रबार आइसेनहावर जहाजमा आक्रमणको घोषणा गरेका थिए ।

हुथी नियन्त्रित च्यानल अल मासिराह टेलिभिजनले बिहीबारको आक्रमणको नतिजा खुलासा गर्दै होदेइदाहमा घाइते नागरिकको उपचार भइरहेको फुटेज प्रसारण गरेको थियो । उक्त आक्रमणमा कम्तीमा ४२ जना घाइते भएको बताइएको छ ।

“अमेरिकी–बेलायती आक्रमणले हामीलाई प्यालेस्टाइनको समर्थनमा हाम्रो सैन्य कारबाही जारी राख्नबाट रोक्न सक्दैन, विद्रोहीले बढ्दो तनावको सामना गर्नुपर्नेछ”, हुथी अधिकारी मोहम्मद अल–बुखाइतीले सामाजिक सञ्जाल एक्सनमा भनेका छन् ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले आक्रमणलाई “हुथी विरुद्धको आत्मरक्षाको एकरूप” रहेको बताएका छन् ।

इरान समर्थित हुथी समूहले पश्चिमी समर्थित र साउदी नेतृत्वको गठबन्धनविरुद्ध लगभग एक दशकको द्वन्द्वपछि यमनको महत्त्वपूर्ण भागलाई नियन्त्रण गरेको हो । गाजामा इजरायलको चलिरहेको द्वन्द्वबीचमा उनीहरूले प्यालेस्टिनीलाई समर्थन गरेका छन् ।

उनीहरूले नोभेम्बरदेखि लाल सागर, बाब अल–मन्डेब जलडमरूमध्य र एडनको खाडीमा जहाजमा बारम्बार ड्रोन र मिसाइल आक्रमण गर्ने गरेका छन् ।

इरानले अमेरिका–बेलायतको आक्रमणलाई “यमनको सार्वभौमिकता र क्षेत्रीय अखण्डता, अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको उल्लङ्घन” भएको भन्दै निन्दा गरेको छ ।

“आक्रमणकारी अमेरिका र बेलायती सरकार यमनी जनता विरुद्धको यी अपराधको परिणामका लागि जिम्मेवार छन्”, इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले भने ।

अमेरिकी समुद्री प्रशासनका अनुसार हुथीले ढुवानी जहाजमा पचासभन्दा बढी आक्रमण गरेका छन्, जसको परिणामस्वरूप हताहत, जहाज कब्जा र विश्वव्यापी व्यापार मार्गमा अवरोध आएको छ । हुथीले ढुवानी कम्पनीलाई वैकल्पिक मार्ग खोज्न वाध्य पारेका छन् । जसका कारण लाल सागर पार गर्ने विश्वव्यापी व्यापारको लगभग बाह्र प्रतिशतलाई असर गरेको छ ।

हुथीको क्षमता घटाउने उद्देश्यले अमेरिका र बेलायतले संयुक्त हमला गरे पनि विद्रोहीले आफ्नो आक्रमण जारी राखेका छन् । आफ्नो पछिल्लो कारबाहीमा उनीहरूले गाजामा इजरायली आक्रमणको प्रतिक्रियामा ग्रीसको स्वामित्वमा रहेको ढुवानी जहाज र अन्य जहाजलाई आक्रमण गरेको अल जजिराले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू