शनिबार, साउन १२, २०८१
03:04 | ०७:४९

हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको मृत्यु

नेपाली लिङ्क मे २०, २०२४

तेहरान । इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन्।

इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतवार भएको दुर्घटनामा राष्ट्रपतिसँगै विदेशमन्त्री होसेन अमिराब्दोल्लाहियान लगायत अन्य धेरैको मृत्यु भएको बताइएको छ।

इरानका आन्तरिक मामिलामन्त्री अहमद वाहिदीले राष्ट्रपति र विदेशमन्त्री हेलिकोप्टरमा भएको पुष्टि गरे।

उक्त हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमतीसहित अन्य व्यक्तिहरू पनि थिए।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकोप्टरले उडानका क्रममा कठिनाइको सामना गर्नुपरेको थियो।

त्यसपछि उक्त हेलिकोप्टरले ‘हार्ड ल्यान्डिङ’ गर्नुपरेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

उक्त हेलिकोप्टर इरानी उच्च अधिकारीहरू लिएर उडिरहेका अन्य दुई समेत गरी तीन हेलिकोप्टरसँगै उत्तरी इरानको यात्रामा थियो।

मन्त्रीहरू र अन्य वरिष्ठ अधिकारी रहेका अन्य दुई हेलिकोप्टर भने सुरक्षित रूपमा गन्तव्यमा पुगेका छन्।

इरानी आन्तरिक मामिलामन्त्रीका अनुसार उद्धार टोली तत्काल सम्भावित घटनास्थलतर्फ लागेको थियो।

तर खराब मौसमका कारण घटनास्थलसम्म पुग्न कठिन भएको थियो।

उक्त क्षेत्रमा ४० भन्दा बढी उद्धार टोली खटाइएको थियो र आपत्कालीन कार्यमा प्रयोग हुने ड्रोनहरूको पनि उपयोग गरिएको थियो। बीबीसी 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू