मंगलबार, वैशाख १८, २०८१
07:31 | १२:१६

इजराइलमा अल जजिरा बन्द गर्न नयां कानून

रासस/एएनआई अप्रिल २, २०२४

इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु । तस्बिर- एएफपी

तेल अभिव, चैत २०– इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार एक विस्तृत कानून पारित गरेपछि अल जजिरा न्यूज नेटवर्क बन्द गर्न आह्वान गरेका छन् ।

नयाँ कानूनले राष्ट्रिय सुरक्षाको लागि खतरा हुनसक्ने विदेशी नेटवर्कहरूमा प्रतिबन्ध लगाउन सरकारी निकायहरूलाई अधिकार प्रदान गरेको सीएनएनले बताएको छ ।

“तत्काल नयाँ कानूनअनुसारको कार्य गर्न कतारमा अवस्थित समाचार आउटलेटका गतिविधि देशमा रोक्ने निर्णय गरिएको हो”, नेतान्याहुले भने ।

सिएनएनका अनुसार गाजामा हमासविरुद्ध इजराइल युद्धको क्षेत्रगत रिपोर्टिङ गर्न प्रतिबद्ध अल जजिरा मिडिया नेटवर्कले एक विज्ञप्तिमार्फत उक्त निर्णयको निन्दा गर्दै आफू आफ्नो ‘साहसी र व्यावसायिक कभरेज’ जारी राख्न यस्ता निर्णयले नरोकिने वाचा गरेको छ ।

नयाँ कानूनले प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई इजराइलमा सञ्चालित विदेशी नेटवर्कहरू अस्थायीरूपमा बन्द गर्न आदेश दिनसक्ने अधिकार प्रदान गर्दछ ।

सिएनएनका अनुसार इजराइलको हमासविरुद्ध चलिरहेको युद्ध तथा नेतान्याहुविरुद्धको बढ्दो सार्वजनिक असन्तुष्टि र विरोधबीच सोमबार संसद्ले सो कानून अनुमोदन गरेको हो ।

नेतान्याहु सरकारले इजराइली विरोधी सूचना फैलाएको आरोप लगाउँदै अल जजिराको सञ्चालनमा लगातार गुनासो गर्दै आएको छ ।

प्रधानमन्त्री नेतान्याहुले सोमबार अल जजिरालाई हमासको पक्षमा रहेको आरोप लगाए । साथै उनले अक्टोबर ७ मा भएको आक्रमणमा सक्रिय सहभागी रहेको र आइडीएफ (इजरायली सुरक्षा बल) सैनिकहरू विरुद्ध उक्साएको आरोप लगाए ।

कतारी सरकारले आंशिक लगानी गरेको अल जजिराले यी सबै ‘निन्दनीय आरोपहरू’ हुन् भन्दै यसले अल जजिराको प्रतिष्ठा मात्र नभई विश्वव्यापीरूपमा यसका कर्मचारीहरूको सुरक्षा र अधिकारलाई पनि खतरामा पार्ने बताएको छ ।

“अल जजिराको अवरोधले डरलाग्दो र चिन्ताजनक स्थितिको आङ्कलन गर्छ । यसले प्रेस स्वतन्त्रतालाई प्रतिबन्धित गर्दछ तथा इजराइल र प्यालेस्टिनका घटनाहरूको वास्तविकतामा विश्वका नागरिकहरूको पहुँचलाई थप सीमित गर्दछ”, इजरायल मानव अधिकार वाच र प्यालेस्टाइन निर्देशक ओमार शाकिरले सीएनएनलाई भने ।

अक्टोबर ७ मा हमासले इजराइलमा गरेको घातक हमलाले इजराइल र हमास बीचको युद्ध सुरु भएको हो । इजराइली रिपोर्टअनुसार युद्धमा एक हजार दुई सयभन्दा बढी मानिस मारिएका छन् भने लगभग दुई सय ५० जनालाई बन्धक बनाइएको छ ।

जवाफमा इजराइली सेनाले हमास नियन्त्रित गाजामा व्यापक गोलाबारी र भूमिगत कारबाही गरेको हो । गाजामा जारी हिंसाका बीच त्यहाँ मृत्यु हुनेको सङ्ख्या झण्डै ३३ हजार पुगेको हमास सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू