शनिबार, वैशाख १५, २०८१
12:58 | १७:४३

मस्को कन्सर्ट हलमा आतंकवादी आक्रमण, कम्तीमा ९३ जना मारिए

नेपाली लिङ्क मार्च २३, २०२४

घट्नास्थलमा आपतिकालिन सेवाका कर्मचारीहरुले उद्दार गर्दै । तस्विर- रोयटर्स

मस्को, चैत १० – मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या ९३ पुगेको छ भने १४० बढी घाइते भएका अधिकारीहरूले शनिबार बताएका छन् ।

शुक्रबार मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा संलग्न रहेको आरोपमा ११ जना पक्राउ परेकामध्ये चार जना प्रत्यक्ष संलग्न रहेका रसियाका सुरक्षा प्रमुखले बताएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणपछि ‘निरन्तर’ घटनाबारे जानकारी लिइरहेको बताइएको छ । राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी समाचार एजेन्सीहरूलाई बताएअनुसार अधिकारीहरूले ‘आतङ्कवादी’ अनुसन्धान सुरु गरिएको बताएका छन् ।

आन्तरिक मामिला मन्त्रालय र सङ्घीय सुरक्षा सेवाको परिचालन एकाइहरूसँग आफ्ना अनुसन्धानकर्ताले मिलेर काम गरिरहेको आईसीआरले जनाएको छ । एएफपीका एक संवाददाताले खोजी कुकुरसहित प्रहरी अधिकारीहरूले भवनको छेउमा पार्किङ गरिएका सवारी साधनहरूको निरीक्षण गरिरहेको देखेको बताए ।

इस्लामिक स्टेट समूहले आफ्ना लडाकुहरूले मस्कोको बाहिरी इलाकामा ‘ठूलो जमघट’ मा आक्रमण गरेको र सकुशल आफ्नो अखडामा फर्किएको बताएको छ ।

ह्वाइट हाउसले रुसलाई यस महिनाको सुरुमा मस्कोमा ‘ठूलो जमघट’ मा सम्भावित आक्रमणको चेतावनी इएको जनाएको छ । रुसले यसबारे केही प्रतिक्रिया जनाएको छैन् ।

मृतकको शवको जाँच भइरहेको छ भने अपराध स्थलबाट हतियार र गोलाबारुदसहितका सामग्री प्रमाणस्वरूप जफत गरिएको छ ।

घटनास्थलमा रहेका आरआईए नोभोस्ती समाचार संस्थाका सम्वाददाताका अनुसार नकावधारी आक्रमणकारीले शुक्रबार एक्कासी भवनभित्र पसेर गोली चलाउनुका साथै भीडमा विस्फोटक पदार्थ फ्याँकेका थिए ।

मस्कोको उत्तरी क्रास्नोगोस्र्क उपनगरमा रहेको क्रोकस सिटी हलमा आक्रमणपछि धुवाँको मुस्लो भरिएको र त्यसपछि आगोको ज्वाला फैलिएको थियो ।

आक्रमण हुँदा घटनास्थलमा पुगेका सङ्गीतकर्मी एलेक्सीले भने, ‘कन्सर्ट सुरु हुनुभन्दा केही समय पहिले एक्कासी गोली र भीडमा व्यापक कोलाहल सुनिएको थियो । होहल्ला लगत्तै त्यहाँ स्वचालित हतियारबाट गोली चलाइएको थाहा भयो ।’ उनले भने, “सम्भवतः यो रुसको इतिहासमा निकै विनाशकारी आतङ्ककारी आक्रमणमध्ये एक हो ।”

मानिसहरू आपत्कालीन निकासतर्फ दौडिँदै गर्दा कन्सर्टमा जानेहरू एक अर्काको टाउकोमा चढेर बाहिर निस्किएको उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू