सोमबार, वैशाख १७, २०८१
06:59 | ११:४४

अष्ट्रियामा एमाले केन्द्रिय नेताले गरे नयां गठबन्धनको चर्चा

नेपाली लिङ्क मार्च १५, २०२४

भियना (अष्ट्रिया) । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अष्ट्रियाको आयोजनामा १४ मार्च बिहीबार नेपालको समसामयिक विषयमा अन्तरक्रिया भएको छ ।

नेकपा एमाले स्थायी समिति सदस्य, परराष्ट्रबिद तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै डा. भट्टराईले अहिलेको नेपालको राजनैतिक स्थायित्व र देशलाई गति दिन वर्तमान नवगठबन्धन बनेको र यसले देशको अर्थतन्त्र सुदृढ बनाउंदै विकास निर्माण कार्यलाई अघि बढाउने बताए ।

देशमा सुशासनको प्रत्याभूति दिलाउंदै र जनतामा देखिएको निराशालाई चिर्दै अग्रगमनका लागि यो सरकार निर्माण भएकाले प्रवासबाट समेत सकारात्मक सन्देश प्रवाह गर्न उनले अपिल गरे ।

प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अष्ट्रियाकी सचिव बाबा राजेश्वरी थापाको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा अष्ट्रियाका लागि नेपाली राजदूत भरतराज रेग्मीले आफ्नो छोटो कार्यकालमा नेपाली डायस्पोरा अष्ट्रियाबाट प्राप्त सहयोगबाट आफू अत्यन्त खुशी भएको र दूतावासबाट धेरै काम गर्ने प्रयास भइरहेको जानकारी दिए । उनले विभिन्न संघसंस्थाको सहभागिता र सुझावमै दूतावास आफ्नो सीमा र कर्तब्य सम्झंदै नेपालीहरुको सहयोगका लागि सदैव प्रयत्नशील रहने पनि बताए ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापाले मञ्चको विश्वब्यापी अभियान र यसको उद्देश्य तथा कार्यदिशाबारे जानकारी दिंदै छोटो समयमा राष्ट्रिय कमिटी अष्ट्रिया र विशेष गरी यसको कार्यसमितिले विगतमा गरेको कार्यक्रमहरुको प्रशंसा गर्दै आगामी दिनमा समेत दूतावास तथा अन्य संघसंस्थासंगको हातेमालोमा मञ्च अग्रणी समाजिक संस्थामा कृयाशिल हुने विश्वास ब्यक्त गरे ।

सो अवसरमा एनआरएन यूरोपका निवर्तमान संयोजक सन्तोष भट्टराई, एन आर एन अष्ट्रियाका पूर्व अध्यक्ष बिनोद चौलागाई, निवर्तमान यूरोप महिला उप–संयोजक निता सापकोटा, वरिष्ठ समाजसेवी राम बहादुर बिश्वकर्मा तथा समाजका लब्धप्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थिति थियो ।

पाहुनाहरुलाई सभाध्यक्ष बाबा राजेश्वरी थापाले पुष्पगुच्छाले स्वागत गर्दै मायांको चिनो समेत प्रदान गरेकी थिइन् । झण्डै दुई घण्टासम्म चलेको सो कार्यक्रम सञ्चालन मञ्चका उपसचिव दिनेश बैदावरले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू