आइतबार, वैशाख १६, २०८१
18:54 | २३:३९

नेपालको समृद्धिका लागि प्रवासबाट जुर्मुराए दोश्रो पुस्ताका युवा

नेपाली लिङ्क मार्च १२, २०२४


बार्सिलोना । स्पेनको सुन्दर नगरी बर्सिलोनामा आयोजित प्रवासी नेपाली मञ्च युरोपको प्रथम विस्तारित बैठकमा प्रवासमा रहेका नेपालीमूलका दोस्रो पुस्ताका युवा तथा विद्यार्थीलाई लक्षित गरि ‘युवा तथा विद्यार्थी सत्र’ गरिएको छ ।

नेपाली राजनीतिमा खासै चासो नराख्ने प्रवासमा दोस्रो पुस्ताका युवाहरुलाई मातृभूमि नेपालसंग जोड्ने उद्देश्यले भएको सो कार्यक्रम पुरातन राजनीतिक भन्दा नितान्त फरक ढंगको थियो, यद्यपि नेपालमा युवा राजनीतिज्ञहरुको सक्रियताले प्रवासमा समेत उत्साह छाएको छ।

यस सत्रमा दोस्रो पुस्ताका नेपाली युवाहरुले प्रवासमा आर्जन गरेका ज्ञान सीप र पूंजी ‘समृद्ध नेपाल सुःखी नेपाली’ को राष्ट्रिय लक्ष्य प्राप्तिका लागि कसरी सदुपयोग गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भयो ।

दोस्रो पुस्ताका युवाहरु थात्तलोमा फर्किंदा प्राप्त हुने अवसर, सम्भावना, चुनौती साथै वस्तुगत यथार्थताको अनुभवले नेपालको विकास तुलनात्मक रुपमा ढिलो हुनुको प्राविधिक कारणहरुबारे वृहत छलफल भएको थियो।

यस कार्यक्रमको अध्यक्षता प्रवासी नेपाली मन्चका संयोजक मुक्त गुरुङले गरेका थिए भने प्रमुख अतिथिको रुपमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज डा. राजन भट्टराईको उपस्थिति थियो।

कार्यक्रम सञ्चालन युवा व्यवसायी तथा प्रवासी नेपाली मञ्च स्पेनका पूर्व महासचिव लक्ष्मण शर्माले गरेका थिए।

वक्ताहरुको रुपमा एनआरएनएका केन्द्रिय उपाध्यक्ष राम शरण सिम्खडाले ‘युवाहरुको भविष्य र नेतृत्व विकास’ बारेमा आफ्नो भनाइ राखेका थिए ।

प्रवासका सफल व्यवसायी र नेपालमा उं मेघाश्री फर्मास्यूटिकल प्रालिका अध्यक्ष तथा एनआरएनए पूर्व केन्द्रिय उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले प्रवासी नेपालीलाई ‘नेपालको लगानीमा चुनौति र सम्भावना’ बारे आफ्नो भनाई राखेका थिए भने एनआरएनएका केन्द्रिय सचिव डा नवराज रोस्याराले आफ्नो अनुभव र युवाहरुका लागि प्रेरणादायी भनाइ राखे ।

कार्यक्रमको आकर्षक पक्ष थियो स्पेनका प्रवासी युवा इन्जिनियरहरुको प्रोजेक्ट www.nepikose.com प्रस्तुति । उक्त कार्यक्रममा ई. पुजन तिमिल्सिनाले नेपाल फर्केर केही गर्न सकिन्छ कि भनेर गरेको प्रयास र असफलताको तीतो अनुभवले सहभागी सबैको ध्यानाकर्षण गरेको थियो ।

स्पेनमा अध्ययनरत युवा विद्यार्थीहरुको पनि उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा प्रवासी नेपाली युवा इन्जिनियरहरु स्पेनबाट भौतिक रुपमा ६ जना र जुम माध्यमबाट दुईजना उपस्थित भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू