आइतबार, वैशाख १६, २०८१
10:03 | १४:४८

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा तीन संस्थाले गरे सार्थक वहस

नेपाली लिङ्क मार्च ४, २०२४


अष्ट्रिया -परोपकारी सामाजिक संस्था बीएन फाउन्डेसन, युरोपको एनपीवान न्यूज च्यानल र अमेरिकाबाट संचालित इनेपलिज डट कमले संयुक्त रुपमा ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम गरेका छन् । 

विश्वका महिलाहरुको हक अधिकार र नेपाली महिला आन्दोलनको विकासक्रम, यथार्थता र चुनौतीबारे आयोजित उक्त भर्चुअल वेबिनार झन्डै ३ घण्टा चलेको थियो भने करिब १५० जना सहभागी थिए ।

कार्यक्रमका पूर्व परराष्ट्र मन्त्री डा विमला राई पौडेलले महिला सशक्तिकरण मुद्दा र चुनौतीहरूको विश्वव्यापी आयामको बारेमा प्रकाश पारेकी थिइन् । 

त्यस्तै काठमाडौँ २ प्रतिनिधि सभा सदस्य माननीय सोविता गौतमले राजनीति र संसदमा नेपाली महिलाहरुको अवस्था र महिला मुद्दाहरुलाई हेरिने दृष्टिकोणबारे प्रष्ट पारिन्। 

स्पेनका लागि नेपाली राजदूत डा शर्मिला पराजुली ढकालले युरोपमा नेपालीहरुले भोगिरहेका समस्या, महिला राजदूतको अनुभव र राजदूतावासले ति समस्या समाधानका लागि गरेका पहल सम्बन्धमा प्रष्ट्याएकी थिइन् ।

वरिष्ठ पत्रकार तथा लेखक बबिता बस्नेतले पेशाकर्मी महिलाहरुले भोग्ने समस्या र समाधानबारे आफ्नो धारणा राखेकी थिइन् । 

नेपालमा मानव अधिकारको अवस्था, घरेलु हिँसाबाट पीडित महिलाका समस्या र महिला अधिकारमा नेपाली महिलाहरुले हासिल गरेको उपलब्धिबारे नेपाल मानव अधिकार आयोगका पूर्व प्रवक्ता तथा सदस्य गौरी प्रधानले प्रकाश परेका थिए। नेपाली संचार माध्यमहरुले उठाएका महिला मुद्दाका विषय र तिनीहरुले खेलेको भूमिकाबारेमा नेपाल प्रेस अनलाइनका प्रधान सम्पादक मात्रिका पौडेलले स्पष्ट पारे ।

प्रवासमा नेपाली महिलाहरुको अवस्था के कस्तो छ भन्ने बारेमा गैरआवासीय नेपाली संघकी निवर्तमान उपाध्यक्ष यसमिन बेगम सैयदले बोलेकी थिइन् । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्रि केसीलगायत विभिन्न व्यक्तित्वहरुले शुभकामना मन्तव्य दिएका थिए । 

कार्यक्रमको सभापतित्व फाउण्डेडनकी उपाध्यक्ष शारदा दाहाल क्षेत्रीले गरेकी थिइन् भने गैरआवासीय नेपाली संघकी सहकोषाध्यक्ष अमृता थापा कन्चनले स्वागत मन्तव्य दिएकी थिइन् । यसैगरी एनपीवान न्यूज च्यानलकी गोमा प्रधानले धन्यवाद ज्ञापन गरिन् ।

यस वर्ष संयुक्त राष्ट्रसंघलको मूल नारा ‘Invest in Women: Accelerate Progress’ छ। एनपीवान न्यूज च्यानलले विगत ५ वर्षदेखि महिला सशक्तिकरण, क्षमता अभिवृद्धि, नीतिनिर्माण र कार्यान्वयनको तहमा महिलाको पहुंचबारे आमसंचार माध्यमहरुबाट पैरवी गर्दै आइरहेको छ। 

एनपीवानकी बाबा राजेश्वरी थापाले संचालन गरेको उक्त कार्यक्रममा गहन बिषयहरुमा विज्ञ प्रस्तोताहरु र संसारभरबाट उपस्थितिले कार्यक्रममा उत्साहजनक सहभागिता थियो । 

कार्यक्रम बारेमा इजरायलकी आइसीसी सदस्य ज्योती शर्माले भनिन्, ‘दिइएको विषयवस्तुमा बोल्न र समयसीमा निर्धारण गर्न संचालकले कडाइ गरेकाले कार्यक्रम उत्कृष्ट थियो     

कार्यक्रमले विषयको गहनतालाई थप उचाइमा पुरयाएको यूकेकी सामाजिक अभियन्ता तथा आइसीसी सदस्य सरस्वती केसीले बताइन् । 

पूर्वी नेपालको भोजपुर जिल्लामा जन्मिएकी नेपाली धार्मिक गुरु, महिला अधिकारकर्मी तथा कवयत्री योगमाया न्यौपानेले वि. सं १९७५ मा नेपालमा पहिलो महिला समितिको स्थापना गरी महिला आन्दोलन शुरुवात गरे पनि नेपाली महिलाहरु अझै पनि आफ्नो अधिकारको लागि संघर्षरत छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू