आइतबार, वैशाख १६, २०८१
04:40 | ०९:२५

इजरायली कारबाहीमा गाजामा नौ हजार महिलाको मृत्यु : राष्ट्रसङ्घ

रासस/सिन्ह्वा मार्च ३, २०२४

दक्षिणी गाजा स्ट्रिपस्थित खान युनिसमा इजरायली हवाइ आक्रमणपछि शव निकाल्दै प्यालेस्टिनीहरु । तस्विर- एएफपी

संयुक्त राष्ट्रसङ्घ- सन् २०२३ अक्टोबर ७ मा इजरायलविरूद्ध प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) ले गरेको आक्रमणको बदलामा गाजामा इजरायली सेनाद्वारा चलाएको हवाई तथा जमिनी कारबाहीमा करिब नौ हजार महिलाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय महिला कार्यक्रम (यूएन वुमन) ले शनिबार जनाएको छ ।

धेरै महिलाहरु भग्नावशेषमुनि परेको रिपोर्ट गरिएकाले यो आँकडा सम्भवतः कम भएको उक्त निकायले जनाएको छ । गाजामा युद्धका कारण दैनिक औसत ६३ महिलाको मृत्यु हुने गरेको छ । युद्धले गर्दा प्यालेष्टिनी महिलाहरुले परिवारका अन्य सदस्य गुमाउनु परेको र बाँचेका बालबच्चासमेतलाई असुरक्षाको अवस्था सिर्जना भएको यूएन वुमनले जनाएको छ ।

हरेक पाँचमध्ये चारभन्दा बढी वा ८४ प्रतिशत महिलाले उनीहरुको परिवारले द्वन्द्व सुरु हुनुअघि प्रयोग गरेको आधा वा कम खाना खाने गरेको रिपोर्ट राष्ट्रसङ्घीय निकायले गरेकोे छ । गाजामा पाँचमध्ये चार अर्थात् ८४ प्रतिशत महिलाले गरेको रिपोर्ट अनुसार उनीहरुका परिवारका सदस्यले गत हप्तादेखि खाना छोड्नु परेको छ ।

तीमध्ये ९५ प्रतिशत आमाहरु खाना बिना नै बस्ने तथा आफ्ना बच्चालाई खुवाउनका लागि आफूहरुले खानामा सम्झौता गर्ने गरेको यूएन वुमनले जनाएको छ । गाजाको २.३ मिलियन जनसङ्ख्याले केही हप्ताभित्र खाद्य असुरक्षाको गम्भीर स्तरको सामना गर्नुपर्नेछ । गाजा सर्वेक्षणमा १२ मध्ये १० महिला सङ्गठनहरूले आवश्यक आपतकालीन प्रतिक्रिया सेवाहरु प्रदान गर्दै आंशिकरुपमा खाद्यान्न सहयोग वितरण गरेको रिपोर्ट गरेका छन् ।

तत्काल मानवीय युद्धविराम नभएसम्म आगामी दिनमा अझ धेरैको मृत्यु हुने उल्लेख गर्दै उक्त राष्ट्रसङ्घीय निकायले गाजामा आवश्यक पूर्वाधारको विनाश र बम विस्फोट रोक्न र तत्काल गाजामा मानवीय सहायता पुर्याउन आग्रह गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू