बिहीबार, वैशाख २०, २०८१
16:48 | २१:३३

अमेरिका र चीनका विदेशमन्त्रीले म्युनिखमा गरे वार्ता

रासस/एएनआई फ्रेब्रवरी १७, २०२४

वासिङ्टन, फागुन ५ गते । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री वाङ यीबीच म्युनिख सुरक्षा सम्मेलनका क्रममा शुक्रबार ‘स्पष्ट र रचनात्मक’ भेटवार्ता भएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरका अनुसार शिखर सम्मेलनका क्रममा भएको भेट संवादको मार्ग खुला राख्न र सम्बन्धमा प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न जारी प्रयासको एक भागको रूपमा भएको हो । भेटमा द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूको बारेमा छलफल भएको थियो ।

मिलरका अनुसार म्युनिखमा वाङसँग ‘स्पष्ट र रचनात्मक छलफल’ गर्ने क्रममा ब्लिन्केनले युक्रेनविरुद्ध रूसको आक्रामकतालाई चीनले समर्थन गरेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो ।

दुवै पक्षले पश्चिम एसिया र कोरियाली प्रायद्वीपको अवस्थाका बारेमा पनि विचार आदानप्रदान गरेका थिए र आ–आफ्ना वरिष्ठ अधिकारीहरूले यी छलफलहरूको अनुगमनका लागि बैठक गर्नुपर्नेमा जोड दिएका थिए ।

ब्लिन्केनले ताइवान स्ट्रेट र दक्षिण चीन सागरमा शान्ति र स्थिरता कायम गर्ने महत्वमा जोड दिएको वासिङ्टन स्रोतले जनाएको छ ।

ब्लिन्केन र वाङबिचको शुक्रबारको बैठक ताइवानको मध्य जनवरीमा भएको राष्ट्रपतीय निर्वाचनपछि दुई देशका वरिष्ठ अधिकारीहरूको पहिलो प्रत्यक्ष बैठक हो ।

उक्त अवसरमा चिनियाँ विदेशमन्त्री वाङले ‘चीन–अमेरिका सम्बन्धको सुदृढ, स्थिर र दिगो विकास’ गर्न आह्वान गर्नुभएको थियो ।

“दुवै पक्षले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवैको जीत हुने सहकार्यका सिद्धान्तहरूको पालना गर्नुपर्दछ र दुई प्रमुख देशहरूलाई एकअर्कासँग घुलमिल हुनका लागि सक्रिय रूपमा सही मार्गको खोजी गर्नुपर्दछ,” वाङलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले लेखेको छ ।

उहाँले भन्नुभयो, “संयुक्त राज्य अमेरिकाले यदि उसले ‘ताइवान स्ट्रेटमा स्थिरताको साँच्चिकै आशा गर्दछ’ ताइवानको विकासलाई ‘वस्तुनिष्ठ र तर्कसङ्गत रूपमा’ हेर्नुपर्छ र एक चीन सिद्धान्तको पालना गर्नुपर्छ ।”

ब्लिन्केन र वाङबिच गत वर्षको अक्टोबरपछि र गत महिना भएको टेलिफोन वार्तापछि भएको यो पहिलो बैठक हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू