शुक्रबार, जेठ ४, २०८१
07:11 | ११:५६

नेपालीहरु संलग्न आइटी कम्पनीले नाइजेरियामा खोल्यो कार्यालय

नेपाली लिङ्क फ्रेब्रवरी ८, २०२४


लन्डन – बेलायतमा मुख्यालय भएको सूचना प्रविधि सम्बन्धी सेवाप्रदायक परामर्शदाता कम्पनी जेनेस सलुशनले नाइजेरियामा आफ्नो कार्यालय खोलेको छ।

“नाइजेरिया अफ्रिकाको सबैभन्दा ठूलो सूचना प्रविधि बजार मात्रै हैन, प्रविधि हबको रुपमा उदाउँदै गरेको मुलुक पनि हो। संसारकै क्लाउड सेवा प्रदायकहरु उदाउँदा बजारहरुमा आफ्नो सेवा विस्तार गरिरहेको बेला हामीले पनि नाइजेरियामा आफ्नो प्रभावकारी उपस्थिति जनाउने निर्णय गरेका हौँ,” जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले भने- “नाइजेरिया सरकारले ल्याएको राष्ट्रिय डिजिटल अर्थतन्त्र नीतिले व्यापार व्यवसाय तथा लगानी भित्र्याउन सहज गरि दिएकाले पनि हामीले नाइजेरियामा सहकार्य र व्यवसाय वृद्धिको राम्रो सम्भावना देखेका छौं।” 

उनले नाइजेरियामा कम्पनी स्थापना गर्न सहयोग गर्ने गैर आवासीय नेपालीहरुलाई पनि धन्यवाद दिए। 

जेनेस सलुशन नाइजेरियाले नाइजेरियाका सरकारी तथा निजी कम्पनीहरुलाई डिजिटल रुपान्तरणका साथै क्लाउड सलुशन्स, साइबर सुरक्षा, डेटा परामर्श लगायत सेवाहरु उपलब्ध गराउने छ। 

“एकजना नेपाली उद्यमीले नेतृत्व गरेको कम्पनी नाइजेरियामा स्थापना हुनु एउटा गौरवको कुरा हो। यसले नेपालीहरुको सीप र दक्षताका बारे बाँकी विश्वले थाहा पाउनुका साथै नेपाल सूचना प्रविधिको हबको रुपमा उदाउँदै छ भन्ने संदेश पनि दिएको छ,” नाइजेरियास्थित औद्योगिक  प्रतिष्ठान डाङोटे ग्रुपका वरिष्ठ व्यवस्थापक तथा गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाले भने। उनले जेनेस सलुशनलाई अफ्रिकाभरि आफ्नो सेवा विस्तार गर्न सफलता मिलोस् भन्ने शुभकामना पनि दिए। 

जेनेस सलुशनको नेपाल, बंगलादेश, अमेरिका लगायत ८ मुलुकमा कार्यालय छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू