बिहीबार, वैशाख २०, २०८१
17:23 | २२:०८

स्वर्ग पुगिन्छ भनेर १९१ बालबालिकालाई भोकै राखेर मारेको अभियोग

रासस–एएनआई फ्रेब्रवरी ७, २०२४

नैरोबी, माघ २४ – मालिन्दी उच्च अदालतले केन्याली ईसाई नेता पल नथेन्ज म्याकेन्जी र अन्य २९ जना संदिग्धलाई एक सय ९१ बालबालिकाको हत्या गरेको अभियोग लगाएको छ ।

सिएनएनका अनुसार गत वर्ष पूर्वी केन्याको शाकाहोला जङ्गलबाट शव निकालिएको थियो । त्यहाँ म्याकेन्जी र उनका सहयोगीहरूमाथि मृत्यु संस्कार सञ्चालन गरेको आरोप लगाइएको थियो । महिनौँसम्म खोजी गरेपछि अधिकारीहरूले ती शव विशाल जङ्गलबाट बाहिर निकालेका थिए ।

यद्यपि म्याकेन्जी र अन्य २९ जनाले आफूहरु दोषी नभएको जिकिर गरेका छन् । संदिग्धमध्ये एक जनालाई मुद्दा चलाउनका लागि मानसिकरूपमा अयोग्य पाइएको छ । यसका साथै म्याकेन्जीमाथि आतङ्कवाद, हत्या र बाल क्रुरतासहित अन्य थुप्रै आरोप लगाइएको छ ।

उनको ट्रायल माच ७ देखि सुरु हुने सिएनएनले बताएको छ । गुड न्यूज इन्टरनेशनल चर्च सञ्चालन गर्ने म्याकेन्जीमाथि डुम्स् डे (प्रलयको दिन) को नेतृत्व गरेको आरोप छ । डुम्सडेमा उनले मृतकहरू स्वर्गमा पुग्न सकुन् भनेर आफ्ना अनुयायीहरूलाई आफू र आफ्ना छोराछोरीलाई भोकै मर्न निर्देशन दिएका थिए ।

त्यसपछि म्याकेन्जीको निर्देशनअनुसार पन्थले संसारको अन्त्यको तयारी गरिरहेको अनुसन्धानकर्ताहरूले आरोप लगाएका छन् । अनुसन्धनकर्ताहरूले प्रमाणका लागि जङ्गलमा महिनौँसम्म खोजबिन गरेकाले म्याकेन्जी गत अप्रिलदेखि हिरासतमा छन् । पछि शव परीक्षणको नतिजाबाट बरामद गरिएका शवहरूमध्ये धेरैको भोकमरीले मृत्यु भएको पत्ता लागेको थियो । अन्य शवमा आघात र घाँटी थिचेको लक्षण देखिएको सिएनएनले बताएको छ ।

गत महिना एक अदालतले म्याकेन्जीविरुद्ध अभियोजकहरूले आरोप नल्याए उनलाई रिहा गर्ने धम्की दिएको थियो । धेरैजसो शवहरू गम्भीररूपमा कुहिएका कारण डिएनएमार्फत पीडितहरू पहिचान गर्न लामो प्रक्रियाको सामना गर्नुपरेको अभियोजकहरूले जवाफ दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू