शुक्रबार, वैशाख २१, २०८१
04:19 | ०९:०४

अमेरिकाद्वारा इराक र सिरियामा हवाई आक्रमण, इरान आक्रोशित

रासस/सिन्ह्वा फ्रेब्रवरी ३, २०२४

अमेरिकी हवाइ आक्रमणपछि इराकको अल क्वायममा ध्वस्त संरचना

वासिङ्टन, माघ २० गते । जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा भएको घातक आक्रमणको बदलामा अमेरिकाले इराक र सिरियामा आक्रमण सुरु गरेको अमेरिकी सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

एबीसी न्यूजले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “जोर्डनस्थित अमेरिकी सैन्य शिबिरमा आइतबार ड्रोन आक्रमण गरेपछि इरान समर्थित लडाकूविरुद्ध जवाफी हवाई आक्रमण हुन सक्ने सम्भावना छ ।”

अमेरिकी समाचार संस्था एपीका अनुसार मानवसहित र मानवरहित विमानले कमाण्ड एण्ड कन्ट्रोल हेडक्वार्टर, गोलाबारुद भण्डारण र अन्य सुविधामा आक्रमण गरेका छन् ।

ह्वाइट हाउसले ड्रोन आक्रमणका लागि ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ नामक छाता समूह जिम्मेवार रहेको बताएको छ ।

रणनीतिक सञ्चारका लागि राष्ट्रिय सुरक्षा परिषद्का संयोजक जोन किर्बीले ह्वाइट हाउसको नियमित पत्रकार सम्मेलनमा ४० जनाभन्दा बढी अमेरिकी सैनिक घाइते भएको उक्त घटना ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ ले स्रोत साधन र सहयोग गरेको योजनाबद्ध आक्रमण भएको बताएका छन् ।

संयुक्त राज्य अमेरिकाले इजरायल–हमास द्वन्द्वपछि यस क्षेत्रमा अमेरिकी सैनिक र सैन्य सुविधाहरूमा बारम्बार आक्रमण गरेको आरोप लगाउँदै आएका कातैब हिजबुल्लाह सिरिया र इराकमा सक्रिय एक लडाकू समूह हो ।

इरानको विदेश मन्त्रालयले इराक र सिरियामा रातारात अमेरिकी हवाई आक्रमणप्रति दुई देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लंघन भएको भन्दै निन्दा गरेको छ ।

मन्त्रालयका प्रवक्ता नासेर कनानीले एक विज्ञप्तिमा भनेका छन्, ‘उक्त आक्रमण संयुक्त राज्य अमेरिकाको अर्को साहसिक र रणनीतिक गल्तीको प्रतीक हो जसले यस क्षेत्रमा तनाव र अस्थिरता बढाउने छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू