शुक्रबार, वैशाख २१, २०८१
22:47 | ०३:३२

गाजामा निरन्तर सहयोग दिन संयुक्त राष्ट्रसङ्घ प्रमुखको आग्रह

रासस/एएफपी जनवरी २८, २०२४

संयुक्त राष्ट्रसङ्घ, माघ १४- संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले गत अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमणमा कर्मचारीको संलग्नता रहेको आरोप लागेपछि दातृ राष्ट्रहरूलाई प्यालेस्टिनी शरणार्थी निकाय (युएनआरडब्लुए) को ‘निरन्तरताको ग्यारेन्टी’ दिन आग्रह गर्नुभएको छ ।

गुटेर्रेसले एक विज्ञप्ति जारी गर्दै भन्नुभयो, ‘मैले उहाँहरूको चिन्ता बुझेको छु । म आफैं यी आरोपहरूप्रति चिन्तित भएको छु । मैले यूएनआरडब्ल्यूएको सहयोगको निरन्तरताको सुनिश्चित गर्न आफ्नो योगदान स्थगित गरेका सरकारहरूलाई जोडदार अपिल गर्दछु ।’

इजरायलले हमासको आक्रमणमा युएनआरडब्लुएका कैयौँ कर्मचारीको संलग्नता रहेको आरोप लगाउँदै आएको छ जसका कारण केही प्रमुख दातृ राष्ट्रहरूले आफ्नो आर्थिक सहायता रोकेका छन् ।

युएनआरडब्ल्यूएले इजरायलको आरोपको लागि धेरै कर्मचारीलाई बर्खास्त गरेको थियो भने दावीहरूको विस्तृत अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको थियो । इजरायलले युद्धपछि गाजामा युएनआरडब्लुएको काम रोक्ने प्रतिज्ञा गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय अदालतले शुक्रबार इजरायलले द्वन्द्वमा नरसंहारका सम्भावित गतिविधि रोक्न र गाजामा थप सहायताका लागि अनुमति दिनुपर्ने फैसला सुनाएपछि इजरायल र युएनआरडब्लुएबीच विवाद उत्पन्न भएको हो । गुटेर्रेसले भन्नुभएको छ, “यी कर्मचारीहरूको घृणित कथित कार्यको परिणाम हुनुपर्दछ ।”

“तर युएनआरडब्लूएमा काम गर्ने दशौं हजार पुरुष र महिलाहरू, धेरै मानवतावादी कामदारहरूका लागि सबैभन्दा खतरनाक अवस्थामा, दण्डित हुनुहुँदैन,” उहाँले थप्नुभयो ।

“तिनीहरूले सेवा गर्ने निराश जनसङ्ख्याको आवश्यकताहरू पूरा गर्नैपर्छ,” उहाँले भन्नुभयो ।

युएनआरडब्लुएका १२ जना कर्मचारीको नाम उक्त अभियोगमा उल्लेख गरिएको पुष्टि गर्दै नौ जनालाई बर्खास्त गरिएको, एक जनाको मृत्यु भएको र अन्य दुईको पहिचान खुलाइएको गुटेर्रेसले बताउनुभएको छ ।

संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा र स्विट्जरल्याण्डलगायतका आरोपपछि युएनआरडब्लुएका केही प्रमुख दातृ राष्ट्रहरूले आफ्नो सेवा अस्थायी रूपमा स्थगन गर्ने बताएका छन् ।

हमासले शनिबार युएनआरडब्लुएविरुद्ध इजरायलको ‘धम्की’को निन्दा गर्दै संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय संस्थालाई ‘धम्की र ब्ल्याकमेलिङमा नजान’ आग्रह गरेको छ ।

गत अक्टोबर ७ मा इस्लामिक समूहले गरेको आक्रमणमा इजरायलमा करिब एक हजार १४० जनाको मृत्यु भएको एएफपीलाई प्राप्त तथ्याङ्कमा उल्लेख छ ।

लडाकूहरूले करिब २५० बन्धकहरूलाई कब्जामा लिएकोमा बन्धक तथा बन्दीहरूको आदानप्रदान सम्झौताअन्तर्गत भएको युद्धविरामका क्रममा कम्तीमा १०० बन्धकलाई फिर्ता गरिएको छ भने तीमध्ये करिब १३२ जना गाजामा रहेको बताइएको छ ।

गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबरको अन्त्यदेखि शुरु भएको इजरायली सैन्य कारबाहीमा कम्तीमा २६ हजार २५७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू