शुक्रबार, वैशाख २१, २०८१
20:49 | ०१:३४

अफ्रिकामा पहिलोपटक प्रधानमन्त्री, नेपालीका समस्या समाधान गर्ने प्रतिवद्धता

नेपाली लिङ्क जनवरी १८, २०२४

कम्पाला (युगान्डा)– अफ्रिका महादेशमा पहिलोपटक पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले यहाँका नेपालीहरुका समस्या आफूले प्राथमिकतामा राखेर समाधान गर्ने बताएका छन् ।

असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन बिहीबार युगाण्डाको कम्पाला पुग्ने बित्तिकै गैरआवासीय नेपाली संघ युगान्डा र नेपाली मानार्थ वाणिज्यदूत युगाण्डाको संयुक्त आयोजनामा भएको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा प्रचण्डले सो कुरा बताएका हन् ।

परराष्ट्र मन्त्री एनपी साउँदले विदेशमा रहेका नेपालीका समस्याप्रति सरकार जानकार रहेको र यसको समाधानका लागि कटिवद्ध रहेको बताए । अफ्रिकामा रहेका नेपालीका थप समस्याहरु यहाँ आउदा जानकारी पाएको बताउंदै उनले यसलाई समाधान गर्न पहल गर्ने जनाए ।

त्यसअघि एनआरएनए युगान्डाका तर्फबाट अफ्रिकामा नेपालीहरुको स्थिति र बेहोर्नु परेको समस्याबारे जानकारी गराइएको थियो । एनआरएनए युगान्डा पदाधिकारीले मानव तस्करहरुले ट्रान्जिट र राम्रो कामको प्रलोभनमा यहाँ ल्याइ अलपत्र पारिदिने, अवैध रुपमा नेपाली महिलालाई यहाँका डान्सबारमा ल्याउने, श्रम स्वीकृति, पासपोर्ट नवीकरण, नेपाल एयपोर्टमा अध्यागमनले दिने दुःख, बैंकिङ्ग कारोबार लगायत समस्या समधानका लागि अनुरोध गरेका थिए ।

कार्यक्रममा युगाण्डाका लागि नेपालका अवैतनिक वाणिज्यदूत डा. सुधीर रुपारेलियाले युगाण्डामा प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायत उच्च अधिकारीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए । उनले नेपाल र अफ्रिकाले लगानी र समृद्धिका लागि साझेदारी बढाउन प्रयत्न गर्नुपर्ने आवाश्यकता रहेको पनि उनको भनाइ थियो ।

कार्यक्रममा परराष्ट्र सचिव सेवा लम्साल लगायत नेपाल सरकारका उच्च अधिकृतहरुको समेत उपस्थिति थियो ।

एनआरएनए युगान्डा अध्यक्ष रमा अर्यालको सभापतित्वमा संचालित कार्यक्रममा पूर्व अध्यक्ष रमेश कंडेल, विनोद थापा, प्रेम श्रेष्ठ लगायतले विशिष्ट अतिथीहरुलाई स्वागत गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू