शुक्रबार, वैशाख २१, २०८१
23:41 | ०४:२६

यमनका हुथी विद्रोहीलाई लक्षित गरी पुनः अमेरिकी आक्रमण

रासस/एएफपी जनवरी १३, २०२४

तस्बिर- रोयटर्स

यमन, पुस २८ गते । इरान समर्थित लडाकूसमूहले ‘रेड सी’ मा पानी जहाजमाथि थप आक्रमण गर्ने चेतावनी दिएपछि अमेरिकाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शनिबार पुनः आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।

प्यालेस्टिनी लडाकु समूह हमाससँग इजरायलले गरिरहेको युद्ध प्यालेष्टिनी थप क्षेत्रमा बिस्तार हुने देखिएपछि यमनी हुथी समूहले आफ्नो क्षेत्रीय सहयोगी हमासलाई सहयोग गर्दै इजरायलको युद्ध बिस्तारविद्ध चेतावनी दिएको हो ।

यमनले ‘रेड सी’ मा इजरायल सम्वद्ध जहाजमाथि आक्रमण बढाएको एक दिनपछि हुथीको राडार साइटमा आक्रमण भएको हो ।

इरान समर्थित लडाकुको सरकारी सञ्चारमाध्यमले यसअघि यमनको विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानास्थित अल–दैलामी एयरबेसमा आक्रमण भएको जनाएको थियो ।

इजरायल–हमास युद्धको विरोधमा हप्तौँदेखि इजरायलसँग जोडिएको पानीजहाजमा आक्रमण गर्दै आएका हुथी विद्रोहीले पहिलो आक्रमणपछि अमेरिका र बेलायतको स्वार्थ ‘वैध निशाना’ भएको चेतावनी दिएका छन् ।

बेलायत, संयुक्त राज्य अमेरिका र आठ सहयोगी राष्ट्रले शुक्रबार गरिएको हवाई आक्रमणको उद्देश्य ‘तनाव कम गर्ने’ रहेको बताएका छन् तर हुथी विद्रोहीले आक्रमण जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

विद्रोहीहरूको सर्वोच्च राजनीतिक परिषद्ले भनेको छ, “आक्रमणपछि सबै अमेरिकी–बेलायती स्वार्थहरू वैध निशाना बनेका छन् ।” विद्रोहीका उपविदेशमन्त्री हुसेन अल एज्जीले संयुक्त राज्य अमेरिका र बेलायतले ठुलो मूल्य चुकाउन तयार हुनुपर्ने बताएका छन् ।

सन् २०१४ मा गृहयुद्ध सुरु भएदेखि नै विद्रोहीहरूले यमनको अधिकांश भाग आफ्नो नियन्त्रणमा लिएका छन् र इजरायल र यी गतिविधि उसका सहयोगीहरूविरुद्ध इरान समर्थित ‘प्रतिरोधको उच्चतम’ हिस्सा हुन् ।

यमन, लेबनान, इराक र सिरियामा अक्टोबरको सुरुमा गाजामा युद्ध सुरु भएयता इरानसमर्थित समूहमाथि हिंसा बढेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले क्षेत्रीय शान्ति र स्थायित्वका लागि सबै पक्षलाई तनाव नबढाउन आग्रह गर्नुभएको महासचिवका प्रवक्ता स्टेफन दुजारिकले जानकारी दिनुभयो ।

हुथी विद्रोहीले पानीजहाजमाथि गरेको आक्रमण तत्काल रोक्न माग गर्दै प्रस्ताव पारित गरेको केही दिनपछि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले शुक्रबार आपत्कालीन बैठक बोलाएको थियो ।

भेटमा अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले हुथी विद्रोहीले ‘रेड सी’ मा पानीजहाज सञ्चालन गर्दा हुने खतराबाट कुनै पनि जहाज सुरक्षित नरहेको चेतावनी दिनुभएको थियो ।

रूसी राजदूत भासिली नेबेन्जियाले देशको सम्पूर्ण जनतामाथि भएको ‘निर्लज्ज सशस्त्र आक्रमण’को निन्दा गर्नुभएको छ ।

मध्यपूर्वका नेताहरूले हिंसाप्रति चिन्ता व्यक्त गरेका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यमनमाथिको आक्रमणलाई अनुचित भन्दै यसले ‘रेड सी’ क्षेत्र रक्तपातपूर्ण बन्नसक्ने बताउनुभएको छ ।

साउदी अरबले सैन्य कारबाहीलाई निकै चिन्ताका साथ हेरिरहेको बताउँदै ‘आत्मसंयम र तनावबाट जोगिन’ आह्वान गरेको छ । सन् २०२२ को सुरुमा भएको युद्धविरामपछि साउदी अरबले हुथी विद्रोहीसँग नौ वर्षसम्म चलेको युद्धबाट आफूलाई मुक्त गर्ने प्रयास गरिरहेको छ ।

हमासले क्षेत्रीय सुरक्षामा परेको असरका लागि बेलायत र संयुक्त राज्य अमेरिकालाई जिम्मेवार भएको दाबी गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू