शुक्रबार, जेठ ४, २०८१
11:59 | १६:४४

नेटो सदस्य बनेपछि फिनल्यान्डसंग ‘समस्या’ आउने पुटिनको चेतावनी

रासस/एएफपी डिसेम्बर १७, २०२३

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन । तस्बिर- एपी

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस वर्षको प्रारम्भमा नेटोमा सामेल भएपछि छिमेकी मुलुक फिनल्यान्डसँग ‘समस्या’ हुने चेतावनी दिएका छन् । उनले जवाफमा मस्कोले उत्तर–पश्चिम रुसमा नयाँ सैन्य जिल्ला बनाइने बताएका छन् ।

रुससँग एक हजार तीन सय ४० किलोमिटर (आठ सय ३० माइल) सीमा साझा गर्ने फिनल्यान्ड यस वर्षको अप्रिलमा युक्रेन हमलाबीच नेटोमा सामेल भएको थियो । “उनीहरू (पश्चिम) ले फिनल्यान्डलाई नेटोमा ताने, के हाम्रो तिनीहरूसँग कुनै विवाद छ ? बिसौँ शताब्दीको मध्यमा क्षेत्रीय विवादसहित सबै विवाद लामो समयदेखि सुल्झिसकेका छन्”, पुटिनले एक सरकारी टेलिभिजन रिपोर्टरसँग भने, “त्यहाँ कुनै समस्या थिएन, अब हुनेछ किनकि हामी लेनिनग्राड सैन्य जिल्ला बनाउने छौँ र त्यहाँ निश्चित सङ्ख्यामा सैन्य एकाइहरू केन्द्रित गर्नेछौँ ।”

फिनल्यान्डले रुसमाथि आप्रवासी संकट उत्पन्न गरेको आरोप लगाउँदै रुससँगको आफ्नो सीमा पुनः बन्द गरेपछि पुटिनको यस्तो टिप्पणी आएको हो । मस्कोले हेलसिन्की नेटोमा सामेल भएकामा जवाफी कदम चाल्ने चेतावनी दिएको छ ।

रुससंग नेटो मुलुकहरूले युद्ध गर्नुपर्ने कुनै कारण नभएको पुटिनले बताए । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै महिना यदि युक्रेनमा सफल भयो भने मस्को त्यहाँ ‘नरोकिने’ चेतावनी दिएका थिए । “रुसबारे गलत नीतिलाई औचित्य साबित गर्न यो बयानबाजी हो”, पुटिनले भने ।

मस्कोलाई नेटो मुलुकहरूसँग लड्न भूराजनीतिक, आर्थिक वा सैन्य दृष्टिले कुनै चासो नभएको उनले बताए । क्रेमलिनको युक्रेन अभियानले नेटोको पूर्वी हिस्सामा रुसी आक्रमणको डरलाई पुनः जागृत गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू