शुक्रबार, जेठ ४, २०८१
08:28 | १३:१३

बैंककमा प्रथम विश्व नेपाली हिन्दु एकता सम्मेलन सम्पन्न

नेपाली लिङ्क डिसेम्बर १०, २०२३

बैंकक– प्रथम विश्व नेपाली हिन्दु एकता सम्मेलन थाइल्याडमा भव्य रुपमा सम्पन्न भएको छ।

थाइ–नेपाली संघको केन्द्रीय धार्मिक (सनातन) विभागको आयोजनामा गत २७ नोभेम्बरमा आयोजित सम्मेलनमा नेपाल, म्यान्मा, थाइल्याण्ड, भुटान र अमेरिकाबाट आएका प्रतिनिधिहरु सहभागी भएका थिए ।

त्रिनाथ देवालय, श्रीपोट, बैंककमा प्रमुख अतिथिका रुपमा सम्मेलनलाई सम्बोधन गर्दै विश्व ओमकार एकता महाभियानका संयोजक गुरु डा चिन्तामणिनाथ योगीले भने, ‘हामीले प्रवासी नेपालीहरुलाई नै मूल आधार बनाएर विश्व नेपाली हिन्दु एकताको अभियान शुरु गरेका छौं। बर्मा (म्यान्मार), थाइल्याण्डमा बसोबास गर्ने नेपालीहरुले जसरी नेपाली परम्परा, साधना र अभ्यासको संवर्द्धन, संरक्षण गरिरहेका छन्, त्यो विश्वका लागि नै नमूना हो। नेपालमा हिन्दु राष्ट्रको स्थापना होस् साथै विश्वभरिका नेपालीहरु हिन्दु जीवन संस्कारतर्फ फर्कन सकुन् भनेर यो ऐतिहासिक सुरुवात भएको छ। सनातन धर्म संस्कृति सहितको हिन्दुत्वको नेपालीहरुले नै नेतृत्व गर्नु पर्छ भन्ने सम्मेलनको मुख्य उद्देश्य थियो।’

म्यान्माबाट आएका पं अशोक घिमिरेले सम्मेलनले संसारभर रहेका नेपाली तथा हिन्दुहरुलाई कसरी एकजुट गर्ने भन्नेबारे वृहत छलफल गरेको बताए ।

‘भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षणले मात्रै जोगिन्छ नेपाली पहिचान’

विश्व भुटानी हिन्दु संगठनका अध्यक्ष कमल धिमालले सिक्किम, दार्जिलिंग मात्रै हैन मलेसिया, फिजी लगायत संसारभरिका नेपालीहरुलाई एकजुट गर्न र कुनै पनि नेपाली शरणार्थी बन्नु नपरोस भन्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताए। ‘भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षणले मात्रै हाम्रो पहिचान जोगिन सक्छ, तर हामी एक रहेनौं भने हाम्रो भाषा र धर्म नै मासिने छ। त्यसैले एकताको विकल्प छैन’, उनले भने ।

यसैगरी विश्व भुटानी हिन्दु संगठनका अन्तरराष्ट्रिय जनसम्पर्क संयोजक नारद अधिकारीले संस्कार, संस्कृति र धर्मलाई कुनै पनि सीमाले छेक्न नसक्ने बताए ।

हाल अमेरिकामा पुनर्वास गराइएका भुटानी नेपालीहरुले ओहायो राज्यमा १५० एकड जमीन किनेर ‘ओम सेन्टर दिव्य धाम’ निर्माण गरिरहेको पनि उनले बताए । ‘आजको विश्व नै एक गाउँ बनेको छ। बसुधैव कुटुम्वकम् सनातन धर्मको मूल मर्म हो। त्यसैले एक अर्कासंग परिचय गर्न र सहकार्य गर्न जरुरी छ’, उनले भने ।

सम्मेलन आयोजक थाइ–नेपाली संघका अध्यक्ष समाजसेवी कुमार कार्कीले नेपाल बाहिर जन्मिएका नेपालीहरुको पहिचानका लागि तथा नेपाली भाषा र संस्कृति जोगाउने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको बताए । ‘यस्तो सम्मेलन हामी हरेक वर्ष विभिन्न मुलुकमा गर्दै जानेछौं र त्यसका लागि १५ सदस्यीय समिति गठन गरेका छौं’, उनले भने ।

‘म पाँचौं पुस्ताको नेपाली हुँ र नेपाली बोली रहेको छु। हामीले नेपालको नागरिकता मागेका छैनौं। विदेशमा बसोबास गरिरहेका हामी जस्ता नेपालीका सन्ततिलाई नेपाल सरकारले पहिचान देओस भन्ने मात्रै हाम्रो माग हो’, कार्कीले भने ।

थाइ–नेपाली संघले थाइल्याण्डका विभिन्न क्षेत्रमा धर्मशाला, मन्दिर तथा सामुदायिक भवनहरु निर्माण गरेर धार्मिक तथा सांस्कृतिक कार्यक्रम साथै बालबालिकाका लागि नेपाली कक्षा सञ्चालन गर्दै आएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू