शुक्रबार, जेठ ४, २०८१
12:27 | १७:१२

चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञबीच इजरायल–हमास युद्धबारे छलफल

रासस/एएफपी डिसेम्बर ६, २०२३

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र चिनिया विदेशमन्त्री वाङ यी गत अक्टोबर अन्तिम साता वासिङ्टन डिसीमा प्रत्यक्ष भेटवार्ताका क्रममा । तस्विर- एएफपी

काठमाडौँ, मंसिर २०- चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञबीच इजरायल–हमास युद्धबारे छलफल भएको छ । चीन र अमेरिकाका शीर्ष कूटनीतिज्ञले बुधबार फोनमार्फत इजरायल–हमास युद्धबारे छलफल गरेको र युद्धलाई कम गर्ने आवश्यकतामा सहमत भएको बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले युद्ध फैलिनबाट रोक्नका लागि काम गर्ने सबै पक्षको अनिवार्यतालाई दोहोरयाएका थिए । मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरका अनुसार ब्लिङ्कनले लाल सागरमा इरान समर्थित हुथी विद्रोहीहरूको हालैको हमलाबारे पनि कुरा उठाएका थिए । विदेशमन्त्री ब्लिङ्कनले उक्त हमलालाई सामुद्रिक सुरक्षा र अन्तर्राष्ट्रिय कानूनका लागि अस्वीकार्य खतरा रहेको बताएका थिए । उक्त कानुनको पालना सबै मुलुकले गर्नुपर्ने दायित्व भएको उनको भनाइ थियो ।

बेइजिङका अनुसार विदेशमन्त्री वाङ यीले इजराइल र हमासबीचको युद्धको सम्बन्धमा ‘सर्वोच्च प्राथमिकता गोली हानाहान रोक्नु र युद्धलाई चाँडोभन्दा चाँडो समाप्त गर्नु रहेको’ मा जोड दिएका थिए ।

विदेश मन्त्रालयका अनुसार वाङले भने, ‘प्रमुख मुलुकहरूले निष्पक्षता र न्यायको पालना गर्नुपर्छ, वस्तुनिष्ठता र निष्पक्षतालाई कायम राख्नुपर्छ, शान्ति र तर्कसंगत देखाउनु पर्छ र स्थितिलाई शान्त बनाउन तथा ठूलो मात्रामा मानवीय विपत्तिलाई रोक्नका लागि हरसम्भव प्रयास गर्नुपर्छ ।’

उनले द्वन्द्वको दुई राज्य समाधानका लागि बेइजिङको आह्वानलाई दोहोरयाए । उनले प्यालेस्टिनको भविष्यसँग सम्बन्धित कुनै पनि व्यवस्थाले प्यालेस्टिनी जनताको इच्छालाई प्रतिबिम्बित गर्नुपर्ने बताए । ‘चीन यो दिशामा प्रयास गर्नका लागि सबै पक्षसँग मिलेर काम गर्न तयार छ’- उनले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू