शनिबार, साउन १२, २०८१
06:16 | ११:०१

इजरायलले छाड्यो ३९ प्यालेस्टिनी बन्दी, गाजाबाट २४ रिहा

नेपाली लिङ्क नोभेम्बर २४, २०२३

तस्विर रोयटर्स

लन्डन । इजरायलले उसको जेलमा रहेका ३९ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।

कतारले मध्यस्तता गरेको चारदिने अस्थायी युद्धविराम र बन्दी साटफेर गर्ने सम्झौता अनुसार शुक्रबार नै इजरायलले महिला र बालबालिकासहित ३९ प्यालेस्टिनी बन्दी रिहा गरेको बीबीसीले जनाएको छ ।

वेष्ट बैंकको बेतुनिया चेक प्वाइन्टबाट रिहा भएका २४ महिला र १५ युवा बन्दी इजरायली सुरक्षाकर्मीलाई ढुंगामुढा गरेका, हत्या प्रयास गरेका जस्ता अभियोगमा जेल परेका थिए । केहीले सुनुवाइ कुरिरहेका थिए ।

उता, प्यालेस्टाइनको लडाकु समूह हमासले गाजामा बन्धक बनाएका १३ इजरायली, १० थाइ र एक फिलिपिनो नागरिक रिहा गरेपछि इजरायल पुगेका छन् । रिहा भएका इजरायलीमा ४ बालबालिका र एक ८५ वर्षीया वृद्धासहित छन् ।

इजरायल–हमास युद्धमा शुक्रबार बिहान ७ बजे अस्थायी संघर्षविराम सुरु भएको थियो ।

बीबीसीका अनुसार, इजरायल–हमास सहमतिअन्तर्गत चार दिने संघर्षविरामको अवधिमा हमासले गाजाबाट कुल ५० जना बन्धकलाई मुक्त गर्ने छ भने इजरायलले १५० जना प्यालेस्टिनी बन्दी रिहा गर्नेछ ।

गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा इजरायलीसहित १,२०० जनाको ज्यान गएको थियो भने २४० जनालाई बन्धक बनाएर लगेको थियो । त्यसयता इजरायलले गरेको हमलामा १४ हजार बढी मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू