बिहीबार, कार्तिक ८, २०८१
17:58 | २२:४३

विदेशको भिसा सहज बनाउन आग्रह

रासस/सिन्ह्वा नोभेम्बर ५, २०२३

किगाली (रुवान्डा), १९ कात्तिक–विश्व भ्रमण तथा पर्यटन परिषद् (डब्लुटिटिसी) का प्रमुख कार्यकारी अधिकृत जुलिया सिम्पसनले कोभिड–१९ महामारीबाट पर्यटन क्षेत्रको सुधार राम्रै भइरहेकाले भिसा आवेदन प्रक्रिया थप सहज बनाउन सरकारहरूलाई आग्रह गरेकी छन् ।

रुवान्डाको राजधानी किगालीमा आयोजित २३औँ डब्लुटिटिसी विश्व शिखर सम्मेलनका अवसरमा परिषद् अध्यक्षसमेत रहेकी सिम्पसनले अन्तर्राष्ट्रिय पर्यटनलाई अझ धेरै सहयोग गर्नका लागि भिसा प्रतिबन्ध कम गर्न र भिसा आवेदन प्रक्रियामा तीव्रता ल्याउन सरकारहरूलाई आग्रह गरिन् ।

वैश्विक भ्रमण फेरि बढिरहेको र विशेषगरेर एसिया–प्रशान्त क्षेत्रसहित सबै क्षेत्रमा पहिलाको अनुमानभन्दा अत्यधिकरूपमा सुधार भइरहेको डब्लुटिटिसी र उसको सहयोगी अक्सफोर्ड इकोनमिक्सको नयाँ आँकडाले उल्लेख गरेको छ ।

‘दिगो भविष्यका लागि पुल निर्माण’ भन्ने विषयअन्तर्गत र रुवान्डा विकास बोर्ड (आरडिबी) को सह आयोजनामा भएको सम्मेलनमा यो वर्षको डब्लुटिटिसी कार्यक्रमले पर्यटन क्षेत्रको विकास र प्रगतिलाई सहयोग गर्न तथा सुरक्षित, बढी लचिलो, समावेशी र दिगो भविष्यका लागि उद्योग जगत्का हजारौँ नेता तथा विशेषज्ञ र प्रमुख सरकारी प्रतिनिधिहरूलाई एक ठाउँमा ल्याएको छ ।

सन् २०२४ को विश्व शिखर सम्मेलन पश्चिमी अस्ट्रेलियाको राजधानी पर्थमा गर्ने घोषणा गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू