बिहीबार, जेठ १७, २०८१
08:30 | १३:१५

बन्धकबारे थाइल्यान्ड र हमासबीच इरानमा प्रत्यक्ष वार्ता

रासस-एएफपी नोभेम्बर २, २०२३

बैङ्कक, १६ कात्तिक–थाई अधिकारीहरूले प्यालेस्टिनी आतङ्कवादी समूहद्वारा इजराइल हमलामा बन्धक बनाइएका २२ थाईको अवस्थाबारे गत साता इरानमा हमाससँग प्रत्यक्ष वार्ता गरेको थाई प्रतिनिधिमण्डलका प्रमुखले बताएका छन् ।
वार्ताकारहरूले गत बिहीबार तेहरानमा हमासका अधिकारीहरूसँग भेटेका थिए । भेटमा हमासले थाई बन्धकलाई ‘उचित समय’ मा रिहा गरिने बचन दिएको अरिपेन उत्तरासिनले बुधबार बैंककमा पत्रकारहरूसँग भने ।
इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा गाजापट्टीबाट हमासले सुरु गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय मानिसको ज्यान गएको थियो । हमासले दुई सय ३० भन्दा बढीलाई बन्धक बनाएको थियो । जवाफमा इजराइली सेनाले गाजामाथि हमला गर्दा आठ हजार सात सयभन्दा धेरै गाजाबासी मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थाई संसद्का अध्यक्षद्वारा नियुक्त तीन सदस्यीय वार्ता टोलीको नेतृत्व गर्ने अरिपेनले इरानमा हमासका अधिकारीहरूसँग दुई घन्टा बैठक बसेको जानकारी दिए । “उनीहरू निर्दोष रहेको भन्दै मैले थाई बन्धकको रिहाइका लागि कुरा गरेँ”, उनले भने, “उनीहरूले थाई बन्धकको राम्रो हेरचाह गरिएको मलाई आश्वासन दिएका छन् तर उनीहरूको रिहाइको मिति बताउन सकेनन्, उनीहरू उचित समयको प्रतीक्षा गरिरहेका थिए ।”
“उनीहरूले हाम्रो चिन्तालाई स्वीकार गरेका छन्, थाइल्यान्डले मुस्लिम समुदायलाई दया र लाभ देखाएको छ भन्ने उनीहरूलाई थाहा छ, उनीहरू थाइल्यान्डलाई सम्मान गर्छन्”, अरिपेनले भने ।
प्रधानमन्त्री श्रेथा थाभिसिनले थाई बन्धकहरूलाई स्वदेश फर्काउन कडा मेहनत गरिरहेको बताएका छन् । साथै विदेशमन्त्रीले यसै साता कतार र इजिप्टसँग कुराकानी गरेका छन् ।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीले खाडी क्षेत्रको स्थितिको ‘जटिलता’ भए पनि बन्धकहरूलाई मुक्त गराउने प्रयास अगाडि बढाइरहेको बताएका छन् ।
प्रधानमन्त्री थाभिसिनले बुधबार राति इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग टेलिफोन कुराकानी गरेका थिए । “उनले मलाई थाई बन्धकहरूको तुरुन्त सहयोगका लागि सक्दो प्रयास गरिने बताउनुभएको छ”, प्रधानमन्त्री थाभिसिनले भने । पछि नेतान्याहुको कार्यालयले इजराइलका सबै बन्धकलाई मुक्त गराउन सक्दो प्रयास गरिरहेको प्रधानमन्त्री थाभिसिनलाई आश्वासन दिएको बताएको थियो ।
द्वन्द्व सुरु हुँदा इजराइलमा करिब ३० हजार थाईले काम गरिरहेका थिए । तीमध्ये अधिकांश कृषि क्षेत्रमा संलग्न थिए । मन्त्रालयका अनुसार द्वन्द्वमा कम्तीमा ३२ थाईको मृत्यु र १९ जना घाइते भएका थिए । थाइल्यान्डले इजराइलमा रहेका सात हजार नागरिकलाई विमानमार्फत स्वदेश फर्काएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू