शनिबार, साउन १२, २०८१
06:54 | ११:३९

अमेरिकी राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच भेट

रासस–एएनआई अक्टोबर २८, २०२३

तस्विर सिन्हवा

वासिङ्टन डिसी, ११ कार्तिक–अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शुक्रबार ह्वाट हाउसमा भेटवार्ता भएको छ ।

सो भेटले चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित भ्रमण पूर्व दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन खोजिएको आशय प्रतिबिम्बित गरेको टिप्पणी भएको छ ।

विश्वका दुई महाशक्ति राष्ट्रका नेताहरूले विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्न सहकार्य गर्नुपर्ने विश्वव्यापी आकाङ्क्षाकाबीच यो भेटलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

ह्वाइट हाउसले जनाए अनुसार राष्ट्रपति बाइडेनले संयुक्त राज्य अमेरिका र चीन दुबैले आपसी सम्बन्धमा प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक ढङ्गले व्यवस्थापन गर्न र सञ्चारको ढोका खुला राख्न आवश्यक रहेको कुरामा जोड दिएका छन् । उनले संयुक्त राज्य अमेरिका र चीनले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न मिलेर काम गर्नुपर्ने कुरामा समेत जोड दिए ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेट दुई देशबीचको उच्चस्तरीय सम्पर्कको शृङ्खलामा सबैभन्दा पछिल्लो खुट्किलो हो । यसबाट पछिल्लो समय दुई देशबीच बढ्दो तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने सम्भावना खोजिरहेको देखिन्छ ।

राष्ट्रपति बाइडेन र मन्त्री वाङबीच ह्वाइट हाउसको रुजवेल्ट कक्षमा भएको सो भेटवार्तामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान पनि उपस्थित थिए ।

प्रवक्ता जोन किर्बीले बताए अनुसार बाइडेनले बैठकलाई सकारात्मक भन्दै वार्ता जारी राख्ने राम्रो अवसरको रूपमा हेरेका छन् ।

यद्यपि, बेइजिङले अर्को महिना हुने वार्षिक एसिया–प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका लागि सान फ्रान्सिस्को जाने वा नजानेबारे स्पष्ट पारेको छैन।
यसअघि चीनका राष्ट्रपति सी चिनफिङले विश्व शान्ति र विकासमा अमेरिका–चीन सम्बन्धको प्रभावलाई उद्धृत गर्दै बेइजिङ वासिङ्टनसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए ।

उनले विभिन्नतालाई राम्ररी व्यवस्थापन गर्न, एकअर्काको प्रगतिमा योगदान पुरयाउन र साझा समृद्धिको दिशामा अघि बढ्न बेइजिङ तयार रहेको बताएको सिन्ह्वाले जनाएको छ।

चीनका राष्ट्रपति सीले चीन ‘पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत–जीत सहयोग’ को तीन सिद्धान्तहरूमा आधारित रहेर अमेरिकासँग काम गर्न इच्छुक रहेको बताएका छन् ।

‘विश्वका दुई ठूला देश चीन र संयुक्त राज्य अमेरिकाले राज्य–राज्य अन्तरक्रियाको सही मार्ग पत्ता लगाउन सक्छन् कि सक्दैनन् भन्ने कुरा विश्व शान्ति, विकास र मानवजातिको भविष्यमा आधारित छ’, राष्ट्रपति सीले उल्लेख गरेका छन् ।

उनले अगाडि भने–पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र सहयोगका तीन सिद्धान्तहरूमा आधारित पारस्परिक लाभकारी सहयोगलाई अगाडि बढाउन, भिन्नतालाई सही ढङ्गले व्यवस्थापन गर्न र विश्वव्यापी चुनौतीहरूको सामना गर्न संयुक्त प्रयास गर्न चीनले अमेरिकी पक्षसँग मिलेर काम गर्न इच्छुक छ ।

अमेरिका–चीन सम्बन्धको राष्ट्रिय समितिको वार्षिक गाला डिनरमा दिइएको बधाइ सन्देशमा राष्ट्रपति सीले दुई देशबीच विभिन्न क्षेत्रमा सहयोग आदानप्रदानका लागि समितिको लामो समयदेखिको समर्पणको प्रशंसा गरेको पनि सिन्ह्वाले उल्लेख गरेको छ ।

दुई देशबीचको तनाव उच्च रहेको अवस्थामा मन्त्री वाङ वासिङ्टन आएका हुन् । यस भ्रमणका क्रममा उन्नत प्रविधिमा अमेरिकी निर्यात नियन्त्रण र पूर्वी र दक्षिण चीन समुन्द्रमा चीनको थप दृढतापूर्ण कारबाही लगायतका विषयमा पनि कुराकानी केन्द्रित भएको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू