शनिबार, साउन १२, २०८१
03:24 | ०८:०९

अमेरिकाद्वारा सिरियामा इरानी फौजले प्रयोग गर्ने दुई साइटमा आक्रमण

रासस/एएफपी अक्टोबर २७, २०२३

अमेरिकी रक्षामन्त्री लोयड अस्टिन

वासिङ्टन, १० कात्तिक–अमेरिकी सेनाले पूर्वी सिरियामा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी) र सम्बद्ध समूहले प्रयोग गर्ने दुई वटा साइटमा आक्रमण गरेको अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बताएका छन्।
“अक्टोबर १७ देखि सुरु भएको इरानी समर्थित मिलिसिया समूहद्वारा इराक र सिरियामा अमेरिकी कर्मचारीहरूविरुद्ध जारी तर करिब असफल आक्रमण शृङ्खलाको प्रतिक्रियास्वरूप गरिएको यो सटिक आत्मरक्षा आक्रमण हो”, रक्षामन्त्री अस्टिनले एक विज्ञप्तिमा भने ।
आक्रमणका क्रममा एक अमेरिकी ठेकेदारको हृदयाघातबाट मृत्यु भएको र २१ अमेरिकी सैनिक सामान्य घाइते भएको तर सबै आफ्नो काममा फर्किएको उनले बताए।
अमेरिकी सैनिकहरूमाथि भएको हमलाविरुद्ध अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीलाई स्पष्टरूपमा दिएको चेतावनीपछि अमेरिकाले सिरियामा आक्रमण गरेको ह्वाइट हाउसले बिहीबार बताएको छ ।
विज्ञप्तिमा रक्षामन्त्री अस्टिनले सिरियामा आईआरसीजीले प्रयोग गर्ने साइटमाथि गरिएको आक्रमणलाई गाजामा इजराइल र हमास आतङ्कवादीबीच जारी सङ्घर्षबाट टाढा राख्न माग गरे।
“आत्मरक्षामा यो सङ्कुचितरूपमा तयार गरिएको आक्रमणको उद्देश्य सम्पूर्णरूपले इराक र सिरियामा अमेरिकी  कर्मचारीहरूको रक्षा गर्नु थियो”, उनले भने, “यो आक्रमण इजराइल र हमासबीच जारी सङ्घर्षबाट भिन्न र फरक छ, साथै इजराइल–हमास सङ्घर्षप्रति हाम्रो दृष्टिकोणमा कुनै परिवर्तन आएको छैन ।”
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू