शनिबार, साउन १२, २०८१
05:55 | १०:४०

स्वीडेनको नेटो प्रवेश प्रस्तावमा टर्कीएका राष्ट्रपतिद्वारा हस्ताक्षर

रासस-सिन्ह्वा अक्टोबर २४, २०२३

ब्रसेल्सस्थित नेटो मुख्यालय । तस्बिर- सिन्ह्वा

अङ्कारा, ७ कात्तिक—टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले स्वीडेनको नेटोमा समावेश हुने प्रोटोकलमा हस्ताक्षर गरेका छन् । उनले उक्त प्रोटोकल अनुमोदनका लागि टर्कीएको संसद्मा पठाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

सुरुमा उक्त प्रोटोकलमाथि संसद्को समितिमा छलफल हुनेछ र त्यसलाई मतदानका लागि साधारणसभामा पेश गरिनेछ । 

अङ्काराले सुरुमा फिनल्यान्ड र स्वीडेन दुवै मुलुकले आतङ्कवादका सम्बन्धमा आवश्यक कदम नउठाएसम्म र अनुरोध गरिएका व्यक्तिहरूलाई सुपुर्दगी नगरेसम्म उनीहरूको नेटो सदस्यतालाई स्वीकृत नगर्ने बताएको थियो । 

स्वीडेनमा कुरान जलाएको घटनालाई लिएर टर्कीएले कडा प्रतिक्रिया जनाएको थियो । यद्यपि फिनल्यान्ड र त्यसपछि स्वीडेनको नेटो सदस्यताको भिटो क्रमशः हटाइयो । 

टर्कीएको संसद्ले मार्चमा फिनल्यान्डको नेटोमा प्रवेश गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । तर, प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लाई कथित समर्थन गरेका कारण स्वीडेनको नेटोमा प्रवेश गर्ने प्रस्तावमाथि टर्कीए अनिच्छुक देखिएको थियो । 

स्वीडेनले नेटो सदस्यता लिने प्रक्रियामा आफ्नो आतङ्कवाद विरोधीकानूनमा नयाँ संशोधनहरू गरेको छ तर उसले टर्कीएले अनुरोध गरेको ‘संदिग्ध आतङ्कवादी’ हरूलाई सुपुर्दगी गरेको छैन । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू