सोमबार, जेठ ७, २०८१
08:04 | १२:४९

सहायता सामग्री पुरयाउन गाजा सीमा खोल्ने सम्झौता

रासस/एएफपी अक्टोबर १९, २०२३

अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लीङ्गकेन हमास आक्रमणबाट पीडित परिवारलाई बुधबार इजरायलको तेल अविवमा भेटघाट गर्दै । तस्विर एपी

गाजापट्टी, प्यालेष्टिनी अधिनस्थ क्षेत्र, २ कात्तिक–अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुरयाउन अनुमति दिने एक सम्झौता सुरु गरेका छन् । इजराइलमा प्रत्यक्ष भेटवार्ता र इजिप्टसँग गहन टेलिफोन वार्तापछि इजिप्टबाट गाजामा प्रवेश गर्नका लागि बन्द भएको रफाह पार गर्न शुक्रबारदेखि सीमित सङ्ख्यामा ट्रकहरूलाई अनुमति दिइने बाइडेनले बताए ।

अक्टोबर ७ यता गाजामा प्रवेश गर्ने यो पहिलो अन्तर्राष्ट्रिय राहत हुनेछ । अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजराइलमा आक्रमण गर्दा अधिकांश सर्वसाधारणसहित एक हजार चार सयको मृत्यु भएको छ भने हमासले करिब दुई सयलाई बन्धक बनाएको छ । त्यसयता इजराइलले प्यालेस्टिनी क्षेत्रलाई घेरा हालेको छ र हवाई हमला सुरु गरेको छ । साथै प्यालेस्टिनी क्षेत्रमा नाकाबन्दी लगाएको छ र अपेक्षित जमिन आक्रमणको तयारीका लागि दशौँ हजार सेनालाई सीमामा परिचालन गरेको छ ।

संयुक्त राष्ट्रसङ्घ र मानवतावादी समूहहरूले गाजामा सैन्य पकडलाई कम गर्न पानी, खाद्यान्न, इन्धन र औषधिहरूको आपूर्तिको अनुमति दिन आग्रह गरेका छन् ।

राष्ट्रसङ्घीय मानवअधिकारवादी शीर्ष अधिकारी मार्टिन ग्रिफिथ्सले बुधबार गाजामा स्थिति गम्भीर रहेको भन्दै घाइतेले अस्पताल भरिएको, तीन हजार गाजाबासी मारिएको र १२ हजार पाँच घाइते भएको बताए । “मृत्यु, पीडा र विनाशको गतिलाई बढाइँचढाइँ गरेर भन्न सकिन्न”, उनले भने ।

गाजाबाट इजराइली हमलाका बीच १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडी भागेका छन् ।

विनाशका बावजुद गाजामा प्रवेशका लागि इजिप्टतिरको सीमा क्षेत्रमा एक सयभन्दा बढी ट्रक लाइन लागेका छन् ।

इजराइलले सहायता सामग्री पुरयाउने निहुँमा हतियार हमासको हातमा पुग्न सक्ने चिन्ता व्यक्त गरेको छ । दशकौँदेखिको सङ्घर्षको यो चरण सुरु भएपछि इजराइलले सीमापार क्षेत्रमा कयौँ हवाई हमला गरिसकेको छ ।

सीमामा नियन्त्रण गरेको इजिप्टलाई प्रवेशद्वार खोल्दा दशौँ हजार शरणार्थी आफ्नो भूमिमा आउने चिन्ता छ । अमेरिकी राष्ट्रपति बाइडेनले सुरुमा करिब २० वटा ट्रक गाजामा प्रवेश गर्ने र सबै पक्षबीच सहमति भए अरु ट्रक पठाइने बताए ।

“हामी सम्भव भएसम्म धेरैभन्दा धेरै ट्रक बाहिर पठाउन चाहन्छौँ”, उनले भने, “यदि हमासले ट्रकलाई नियन्त्रणमा लिन्छन् र लक्षित स्थानमा पुर्याउन दिँदैनन् भने ट्रक पठाउने काम यहीँ बन्द हुन्छ, हामी हमासलाई कुनै पनि मानवीय सहायता पठाउने छैनौँ ।”

इजराइली अधिकारीहरूले डेलिभरी खाद्यान्न, पानी र औषधिसम्म सीमित हुने भन्दै उक्त सामग्रीको प्रयोग हमासले गर्ने छैन भन्ने सर्त भएको बताएका छन् ।

राष्ट्रसङ्घीय अधिकारी ग्रिफिथ्सले गाजामा मानवीय सहायता पूरा गर्नका लागि प्रतिदिन एक सय ट्रकको आवश्यकता रहेको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू