शनिबार, साउन १२, २०८१
02:52 | ०७:३७

नयाँ राहदानीका लागि पोल्याण्डमा तीन दिने घुम्ती सेवा

नेपाली लिङ्क अक्टोबर १४, २०२३

पोल्याण्ड । बर्लिनस्थित नेपाली दूतावासको सहयोग तथा वार्सास्थित अवैतनिक वाणिज्यदूतावासको सहकार्यमा विद्युतीय  राहदानीको फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि तीन दिने घुम्ती सेवा सम्पन्न भएको छ। जसको सुपरिवेक्षण जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का तथा समन्वय पोल्याण्डका लागि अवैतनिक वाणिज्यदूत डा. बोधराज सुवेदीले गरेका थिए ।

पोल्याण्डको राजधानी वार्सामा अक्टोवर ७ देखि ९ सम्म संचालन भएको घुम्ती सेवामा २४९ जनाले नयाँ राहदानीको लागि आवेदन दिएका छन्। 

पोल्याण्डमा रहेका नेपालीहरुको नयाँ राहदानी बनाउन वायोमेट्रिक संकलनको लागि परराष्ट्र मन्त्रालय नेपालद्वारा वर्लिनस्थित नेपाली दूतावास र पोल्याण्डको लागि अवैतनिक वाणिज्यदूतावासको रोहबरमा घुम्ती सेवा संचालन गर्ने सम्बन्धि निर्णय बमोजिम सो सेवा सम्पन्न भएको हो। 

सन् २०२४ सेप्टेम्वर ३० सम्म म्याद भएका राहदानी नवीकरण तथा नयाँ विद्युतीय राहदानी (ई-पासपोर्ट) को लागि फाराम र बायोमेट्रिक सङ्कलन गर्नका लागि घुम्ती सेवा गरिएको हो।  

पोल्याण्डमा नेपाली दूतावास नभएको कारणले त्यहाँ रहेका नेपालीहरु राहदानी साथै अन्य कागजपत्रको लागि बर्लिनस्थित नेपाली दूतावास धाउनु पर्ने समस्यालाई घुम्ती सेवाले सहज बनाएको छ । घुम्ती सेवा सम्पन्न गर्नका लागि जर्मन दूतावासबाट खटिएर श्रीमती नानु थापा आएकी थिइन् । गैर आवासीय  नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोल्याण्डका पदाधिकारीहर तथा अन्य स्वयंसेवकहरुले सक्रिय सहयोग गरेका थिए ।


सो घुम्ती सेवामा म्याद सकिन लागेका पासपोर्टका साथसाथै हराएका, नाम बिग्रिएका नेपालीहरुले नयाँ पासपोर्टको लागि आवेदन दिएका छन्। आवेदन दिएका आवेदकहरुले दुई महिना भित्रमा पासपोर्ट प्राप्त गर्ने जानकारी अवैतनिक वाणिज्यदूत डा. सुवेदीले दिए। 

पोल्याण्डका विभिन्न शहरहरुमा छरिएर रहेका नेपालीहरुलाई राहदानी तयार भएर आएपछि चाहनेहरूलाई उनीहरुकै ठेगानामा कुरियरद्वारा पठाइने व्यवस्था मिलाइएको छ।  

स्मरण रहोस्, बर्लिनस्थित नेपाली दूतावासले रोमानिया, चेक रिपव्लिक र हंगेरीमा यस्ता सेवाको व्यवस्था गरिरहेको छ र गत अप्रिल १-३ मा पहिलोपटक पोल्याण्डमा यस्तो सेवा संचालन गरिएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू