शनिबार, साउन १२, २०८१
06:17 | ११:०२

एनआरएनए केन्द्रीय युवा संयोजकका प्रत्यासी अधिकारीका सात प्रतिवद्धता

नेपाली लिङ्क अक्टोबर १२, २०२३

लन्डन । पोर्चुगलका युवा व्यवसायी रविन अधिकारीले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३ -२०२५ को कार्यकालका लागि युवा संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

यही अक्टुबर १७ देखि २० सम्म हुने ११ औं महाधिवेशनमा उनी युवा संयोजकको दावेदारको रुपमा प्रस्तुत भएका हुन् । एनआरएनए राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको नेतृत्व सम्हालिसकेका अधिकारी स्वच्छ छविका सफल व्यवसायी मानिन्छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको सदस्य (२०११ -१३) , पोर्चुगलको युवा संयोजक (२०१७-१९), आइसिसी सदस्य (२०१९-२१) र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको अध्यक्ष (२०२१-२३) को सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएको र भविष्यमा थप योगदान दिन सक्ने उनको धारणा छ ।

संस्थासंगको १४ वर्ष लामो अनुभवका कारण भावी दिनहरुमा अझ थप योगदान पुर्याउने चाहनास्वरूप उम्मेद्वारी दिएको बताउंछन् ।

‘सबल एनआरएनए आजको आवश्यकता, युवा र नयाँ पुस्ताको वृहत् सहभागिता’ भन्ने मूल नाराकासाथ् आगामी कार्यकालमा युवाहरुकालागि विशेष योजना लिएर अघि बढ्ने चाहनास्वरुप उनले आफ्ना विभिन्न ७ वटा प्रतिवद्धता र योजना प्रस्तुत गरेका छन् ।

उनका ७ प्रतिवद्धता –

१- ‘सबल एनआरएनए आजको आवश्यकता, युवा र नयाँ पुस्ताको बृहत सहभागिता’ भन्ने मूल भावनाका साथ संघमा युवा र नयाँ पुस्तालाई व्यापक सहभागिता बढाउने विशेष योजना ल्याइ कार्यान्वयन गराउनेछु ।

२- प्रवासमा रहेका युवाहरुलाई फुटबल, भलिबल, क्रीकेट लगायतका खेलकुदहरुको माध्यमबाट जोड्न एनआरएन युवा खेलकुद कोष स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली खेलाडीलाई प्रोत्साहित गर्दै सहयोग पुर्याउने योजना कार्यान्वयन गर्नेछु ।

३-  विदेश आएका कतिपय नेपाली युवाहरु आज विभिन्न खालको कुलत र समस्या पनि फसिरहेका छन् । उनीहरूलाई खेल लगायत विभिन्न साँस्कृतिक मनोरञ्जन कार्यक्रमबाट सकारात्मक सोच वृद्धि गराउनु र सही मार्गमा हिडाउनु आज हामी सबैको लागि चुनौती र दायित्व पनि हो । यसमा मेरो जोडदार प्रयास रहनेछ ।

४ – रोजगारका लागी विदेश जान चाहने युवाहरुलाई नेपालमै रोजगारमूलक तालिम सन्चालन गरी जाने सम्बन्धित देशका एनआरएनए एनसीसीहरुसंगको समन्वयमा दक्षता हासिल गरेको क्षेत्रमा रोजगारका लागी पहल गर्ने र त्यसको सुपरिवेक्षण गर्ने।

५ – आइसिसी र एनसिसी बीचका युवाहरुलाई संयोजन गरी आपसी सहयोग अभिवृद्धि र आइपर्ने विभिन्न समस्या समाधानका लागि आइसिसीको तर्फबाट एनसिसीका युवा संयोजकहरुलाई समेटी एक संयन्त्र गठन गर्न प्रयत्न गर्नेछु र एनसिसीका युवाहरुको भावनालाई आइसिसीसम्म पुर्याउन प्रयत्न गर्नेछु ।

६- विदेशमा रहेको दोश्रो वा तेश्रो पुस्ताका युवा वर्गलाई नेपालको भाषा, संस्कार, संस्कृति, नेपालीपन र नेपाली माटोसंग भौतिक र भावनात्मक रूपमा जोड्न भाषा, संस्कृति प्रवर्द्धन र जगेर्नाका लागि विभिन्न कार्यक्रम संचालन गर्नेछु ।

७-  ‘नेपालीका लागि नेपाली’ र ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने संघको मूल नाराको भावना बमोजिम सधैं क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू