मंगलबार, वैशाख २५, २०८१
21:18 | ०२:०३

अफगानिस्तान भूकम्पमा दुई हजार बढीको मृत्यु

रासस-एएफपी अक्टोबर ८, २०२३

हेरात, अफगानिस्तान, २१ असोज–पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ह्वात्तै बढेर दुई हजारभन्दा बढी पुगेको छ । त्यहांको विपद् मन्त्रालयले अहिलेसम्म दुई हजार ५३ जनाको मृत्यु भएको र कम्तीमा ९ हजार २४० जना घाइते भएका जनाएको छ।

शनिबार गएको ६.३ म्याग्नीच्यूडको भूकम्पको केन्द्रविन्दु प्रान्तीय राजधानी हेरातबाट ३० किलोमिटर उत्तरपश्चिममा रहेको दुर्गम क्षेत्रमा परेको थियो ।

“दुर्भाग्यवश, हताहतको सङ्ख्या व्यावहारिक रूपमा धेरै देखिएको छ,” सरकारका उपप्रवक्ता बिलाल करिमीले आइतबार भने । उनले एएफपीसँग भने, “उद्धारका धेरै प्रयास भइरहेका छन् । आइतबार प्राप्त आँकडाले हताहत हुनेको सङ्ख्या निकै धेरै पुग्ने अनुमान गरिएको छ ।”

जिन्दा जान जिल्लाको सर्बोल्याण्ड गाउँमा शनिबार रात परेपछि एएफपीका एक संवाददाताले भूकम्पको केन्द्रविन्दु नजिकै दर्जनौं घर भत्किएको पुष्टि गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हेरात प्रान्तका कम्तीमा १२ गाउँका ६०० भन्दा बढी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

प्रत्यक्षदर्शी स्थानीय ४२ वर्षीय बशीर अहमदले भूकम्पको पहिलो झट्कामा सबै घर भत्किएका र घरभित्र रहेकाहरू पुरिएका बताए । उनले भने “अझै धेरै हामीले कुनै खबर नसुनेका परिवारहरू छन् ।”

स्थानीय नेक मोहम्मदले एएफपीसँगको कुराकानीमा स्थानीय समयअनुसार बिहान ११:०० बजे पहिलो भूकम्प आउँदा आफू काममा रहेको तर भूकम्पपछि हतारहतार घर फर्किँदा त्यहाँ केही पनि बाँकी नदेखेको बताए । “सबै कुरा भूकम्पबाट ढलेका घरका भग्नावशेषमुनि पुरिएका थिए,” उनले भने ।

शनिबार स्थानीय र घटनास्थल वरपर उपलब्ध सुरक्षाकर्मीको सहयोगमा करिब ३० जनाको शव निकालिएको थियो ।

भूकम्पपछि स्थानीयले रातभर खुला आकाशमा रात बिताएको बताए । मोहम्मदले भने, “अहिलेसम्म हामीसँग ओढ्ने कम्बल वा खानेकुरा केही पनि छैन । यहाँ हामी आफन्तहरू गुमाएको शोकमा छौँ र खाना पनि खान पाएका छैनौँ ।”

डब्लूएचओले शनिबार राति क्षतिको विवरण आउने क्रम जारी रहेकोले तत्काल यति नै हताहत भएको भन्ने अनुमान गर्नु हतार हुने बताएको थियो ।

हेरात शहरमा पहिलो भूकम्पको धक्का महशुस भएपछि त्यहाँका बासिन्दाले आफ्नो घर, विद्यालय, अस्पताल र कार्यालयहरू खाली गराएका थिए । बजार क्षेत्रमा हताहतका धेरै घटनाहरू भएको रिपोर्टहरू आएका छन् ।

सन् २०२१ मा तालिवान सत्तामा फर्किएपछि व्यापक रूपमा विदेशी सहायता फिर्ता लिएपछि अफगानिस्तान पहिलेदेखि नै गम्भीर मानवीय सङ्कटको चपेटामा परेको छ ।

करिब १९ लाख जनसङ्ख्या रहेको हेरात प्रान्तमा इरानसँगको सीमामा पर्छ । हेरातमा वर्षौं लामो खडेरीले धेरै कृषकहरूलाई आर्थिक तथा मनोवैज्ञानिक रूपमा कमजोर बनाएको छ ।

युरेशियन र भारतीय टेक्टोनिक प्लेटहरूको संगमनजिक रहेको हिन्दकुश पर्वत शृङ्खलामा रहेको अफगानिस्तानी भूभाग अक्सर भूकम्पको चपेटामा पर्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू