शनिबार, साउन १२, २०८१
02:08 | ०६:५३

निज्जर हत्यामा प्रमाण पेश गर्न क्यानडालाई भारतको चुनौती

रासस/एएनआई सेप्टेम्बर २७, २०२३

न्यूयोर्क । भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती दिँदै त्यससम्बन्धमा क्यानडासँग जानकारी मागेको छ ।

साथै नयाँदिल्लीले हरदीपसिंह निज्जर हत्यासम्बन्धमा क्यानडाले उपलब्ध गराउने कुनै पनि विशेष सूचनामा आधारित भएर अनुसन्धान अघि बढाउन भारत तत्पर रहेको स्पष्ट गरेको छ ।

संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी हुने सिलसिलामा न्यूयोर्कमा रहेका भारतका विदेशमन्त्री एस जयशंकरले मंगलबार आयोजित एक कार्यक्रममा निज्जर हत्याको सूचनामा छलफल गर्न भारत खुला रहेको बताए ।

हालै क्यानडाले निज्जर हत्यामा भारतीयको हात रहेको ‘विश्वसनीय जानकारी’ आफूसँग रहेको र त्यसको अनुसन्धान गरिरहेको बताएपछि ओटावा र नयाँदिल्लीबीचको सम्बन्ध नराम्ररी चिसिएको छ । आपसी सम्बन्धमा यति तिक्ततापूर्ण बनेको छ कि दुई देशले कूटनीतिक कर्मचारीलाई निष्कासन गर्नेदेखि भिसा नदिनेसम्मका निर्णय गरेका छन् ।

भारतले क्यानडाको विश्वसनीय सूचनालाई आधारहीन भन्दै खारेज गरेको छ । भारत सरकारले क्यानडालाई हत्याको बारेमा कुनै पनि सान्दर्भिक आरोपमा छानविन गर्न खुला रहेको बताएको जानकारी दिँदै विदेशमन्त्री जयशङ्करले त्यसमा दिल्लीको कुनै भूमिका नभएको दोहोरयाए । उनले निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती पनि दिए ।

हरदीप सिंह निज्जरको गत जुन महिनामा ब्रिटिस कोलम्बियाको एउटा मन्दिर बाहिर गोली हानी हत्या भएको थियो । उनलाई सन् २०२० मा भारतले आतंकवादी घोषणा गरेको थियो । यद्यपि उनका समर्थकहरूले यसलाई अस्वीकार गर्दै आएका छन् ।

पश्चिमा देशहरूमा पृथकतावादीहरूको खालिस्तान वा छुट्टै शिख मातृभूमिको माग गर्दै विरोधप्रदर्शन गर्नेलगायत भारत विरोधी गतिविधिप्रति भारत सरकारले आपत्ति जनाउँदै आएको छ ।

सन् अस्सीको दशकमा शिख बहुल पञ्जाब राज्यमा केन्द्रित हिंसात्मक विद्रोहले खालिस्तान आन्दोलनको रुप लिएको हो । यो आन्दोलन भारतमा मत्थर भए पनि क्यानडा, अष्ट्रेलिया र बेलायत जस्ता देशका शिखले बेलाबखत भारत विरोधी गतिविधि गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू