शनिबार, साउन १२, २०८१
03:14 | ०७:५९

२४ बुँदे कार्ययोजनासहित एनआरएनए अध्यक्ष उम्मेद्वार बन्ने आरके शर्माको घोषणा

नेपाली लिङ्क सेप्टेम्बर २७, २०२३


कतार (दोहा) । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि कतार निवासी राजेन्द्र कुमार (आर.के.) शर्माले एक समारोहका बीच अध्यक्ष पदमा उम्मेद्वार बन्ने औपचारिक घोषणा गरेका छन् ।

कतारको राजधानी दोहास्थित रयाडिसन ब्लु होटलमा बुधबार उम्मेद्वार घोषणा सभा कार्यक्रम गरी अध्यक्षका प्रत्यासी शर्माले आफ्ना २४ बुँदे बाचापत्र सार्वजनिक गरेका हुन् । 

“गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मूल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र सार्वजनिक गरे ।

संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको बताए । यो योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’ बन्ने उनले दाबी गरे । 

बाचापत्र सार्वजनिक गर्दै शर्माले भने, “मैले आइसिसीको उपाध्यक्ष भइ कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु । तपाई हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ ।”

“अध्यक्ष पद प्राप्त गर्ने मेरो अभिलाषा होइन । मैले त तपाई हाम्रा लागि काम गर्ने उद्देश्यले जिम्मेवारी लिन मात्र खोजेको मात्र हुँ” उनले थप जोड दिंदै भने, “मैले योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य राखेको छु । ती लक्ष्य र कार्ययोजनालाई समेटेर यो बाचापत्र सार्वजनिक गरेको छु ।” 

आफूले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिक रुपमा सावजनिक गर्ने उनले बाचा समेत गरे । 

शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । अब गैरआवासीय नेपाली अभियानलाई मानवीय सहयोगमा मात्र सीमित नराखी नेपालको आर्थिक क्रान्तिका लागि एकजुट भएर लाग्नुपर्ने बेला भईसकेको उनले जिकिर गरे ।

शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन् । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसिसी सदस्य, मध्यपूर्व संयोजक र आइसिसी सचिव भएर काम गरे । हाल उनी संघको आइसिसी उपाध्यक्ष हुन् ।

नेपालको बाग्लुङ जिल्लामा वि.सं. २०३८ साल जन्मिएका शर्मा  सन् २००३ मा कतार पुगेका थिए । उनी अहिले कतारमा एक सफल नेपाली व्यवसायीका रुपमा चिनिन्छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू