मंगलबार, असोज १, २०८१
00:17 | ०५:०२

एनआरएनए आइसीसी युवा उपसंयोजकका लागि डा. शंकर बिसुन्केको उम्मेदवारी

नेपाली लिङ्क सेप्टेम्बर २६, २०२३

गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी युवा उपसंयोजकका लागि डा. शंकर बिसुन्केले उम्मेदवारी घोषणा गरेका छन् ।

उनले एनआरएनए आईसीसीको २०२३ देखि २०२५ कार्यकालका लागि एनआरएनए अमेरिकाज क्षेत्रको क्षेत्रीय युवा उपसंयोजकका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

‘युवा सशक्तिकरणमार्फत संस्थागत रूपान्तरण’ भन्ने मूल मन्त्र अघि सारेर उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् । आम युवाहरूको आवाजलाई सम्बन्धित ठाउँमा पुर्‍याउने र समाधानको खोजी गर्ने प्रतिवद्धता उनको छ ।

अमेरिकाज क्षेत्रका युवाहरूलाई लक्षित गरेर उच्च अध्ययन, खेलकुद, रोजगारीलगायत विभिन्न रचनात्मक क्रियाकलापको बारेमा योजना बनाउने र उचित कार्यान्वयन गर्ने लक्ष्य उनको छ ।


अरूका लागि बाँच्ने नाम – शंकर बिसुन्के

संसारका धेरै मानिस आफ्ना लागि सोच्छन् । तर केही मानिसहरू हुन्छन् जो अरूका लागि पनि सोच्छन् । डा. शंकर बिसुन्के यसैको एक उदाहरणीय नाम हो जो अरूका लागि पनि बाँच्छन् ।

२०४४ सालमा पूर्वी नेपालको विराटनगरमा जन्मिएका शंकर बिसुन्के एक युवा समाजसेवी हुन्। एक साधारण पारिवारिक पृष्ठभूमिका शंकर त्यहाँकै हावा र पानीसँग साँटिदै हुर्किए ।

जिज्ञाशु तथा मेहनती स्वभावका शंकरले श्री राम माविबाट एसएलसी उत्तिर्ण गरे । तर कक्षा १२ पढ्दै ताका उनले आमा गुमाउनु परयो । त्यो पीडाको गहिराइ व्यक्त गर्ने उनीसँग  सायदै शब्दहरु छन् ।

भर्खर कलेज पढ्दै गरेका उनलाई आमाको निधनले बिथोल्यो र पढाइको बेग रोकियो । तर उनले त्यो बेला नेसनल इन्सटिच्यूट अफ इन्फरमेसन टेक्नोलोजी भारतबाट कम्युटर हार्डवेयर तथा नेटवर्किङ सम्बन्धि साधारण तालिम लिए । त्यो साधारण तालिमले उनलाई थप सिक्नु पर्ने महशुस गरायो र उनी भारत हानिए ।

करिब एक वर्षको भारत बसाइले नेपालमै केही गर्ने उर्जा भरिदियो र २०६३ सालमा उनी नेपाल फर्किए । उनले साइबर क्याफेको स्थापना गरे । तर धेरै लोड सेडिङले गर्दा त्यो दिगो हुन सकेन । 

उनका बुवा र आमा नेपाल प्रहरी सेवामा थिए । जसले देशको शान्ति सुरक्षाका लागि करिब ३२ वर्ष सेवा गरे । अवसर खोज्दै जाँदा २०६४ सालमा शंकर नेपाल प्रहरीमा भर्ना भए । त्यसपछि पूर्व डिआइजिपी अमृत काजी श्रेष्ठको सहयोगमा उनको रोकिएको पढाइले पुन गति पायो । 

BSCIT- Lord Buddha College, Kathmandu मा भर्ना भए उनी । करिब ७ वर्ष नेपाल प्रहरीमा आवद्धपछि थप अध्ययन र सिकाइका लागि उनी फराकिलो संसार खोज्न थाले ।

थप अध्ययन र अवसरका लागि अमेरिका जाने तयारी गरे तर भिषा लागेन। तर त्यही बेला साथी विनम तिवारीको सहयोगमा दुबईका लागि भिजिट भिसा पाए ।

दुबईको एक प्रसिद्ध यूनिभर्सल हस्पिटलमा मार्केटिङ एक्जिक्यूटीभ अफिसर भएर काम गर्ने जिम्मेवारी पाए । त्यहाँ रहँदा विभिन्न नेपाली समाज, श्रमिक तथा पत्रकारहरूसँग जोडिएर सयौं नेपालीलाई स्वास्थ्य सेवा प्रदानको महत्वपूर्ण कडी बने । उनको समन्वय र सहयोगबाट धेरै नेपालीले स्वास्थ्य सेवा पहुँच पाए ।

मेहनतमा विश्वास गर्ने शंकरले अस्पतालमा राम्रो काम गरेर प्रमाणित गरेपछि उनी विश्वास पात्र बने । तर उनको अध्ययन तिर्खा मेटिएको थिएन । त्यसैले अस्पतालमा काम गर्दै गर्दै एमबीए तहको अध्ययन पनि सुरू गरे र केही वर्षको अथक मेहनतले उनी पिएचडी हाँसिल गर्न सफल भए । यो सफलता उनको जीवनको कल्पनाभन्दा परको थियो ।

उनी अमेरिका पुग्न चाहन्थे र सफल पनि भए । थप अवसर र अध्ययनका लागि उनी २०७५ सालमा अमेरिका पुगे । उनका लागि काम सानो ठुलो कहिल्यै भएन । अमेरिकामा होटलको साधारण कामबाट उनका दिनहरू आरम्भ भए । तर उनको रूचि सूचना प्रविधिमा थियो । त्यसैले आइटी सम्बन्धित काम गर्न थाले ।

नेपालमा हुँदा उनले कहिले मुसहर बस्तिमा काम गरे त कहिले निशुल्क बालकालिकालाई शिक्षणको काम । त्यो आदत अमेरिका पुग्दा पनि छुटेन। कामसँगै विभिन्न सेवामुलक कार्यमा उनको सक्रियता बढ्दै गयो । उनी कहिले नेपालीहरूका लागि कोठा खोज्न हिंडे त कहिले काम खोज्न । कहिले बालकालिकाको शिक्षाका लागि हिंडे भने कहिले जेष्ठ नारगरिकको हितका लागि ।

साधारण दलित परिवारका शंकरले आर्थिक स्थिरताका लागि कठोर संघर्ष गरे । आर्थिक भन्दा समाजिक विभेदको सुइरोले उनी धेरैपटक घोचिए । तर उनी भित्रको मानव सेवाको भाव कहिल्यै रित्तिएन ।

उनका नजरमा संसारका सबै मानिस उस्तै लाग्छन् । सबै मानिसको जिन्दगी उतार चढावले भरिएको छ । अप्ठेरोमा परेकालाई सहयोग गर्न पाउँदा उनको मन खुसीले चंगा हुन्छ ।

२०६९ सालमा बाल्यकालदेखिकी प्रेमिका सजना लिम्बुसँग उनी वैवाहिक सम्बन्धमा गाँसिए । सजना राष्ट्रिय स्तरको कराते खेलाडी समेत हुन् । उनीसँगको सम्बन्धले जीवनका कयौं उतारचढावलाई सँगै जुध्न बल थपिरहयो । र परिवारमा दुई सन्तान थपिदा अनुहारमा खुसीको उज्यालो भरिएको छ ।

कुनै दिन राम्रो जागिर पाएको हेर्ने उनकी आमाको धोको थियो । र त आमाको आशिर्वाद उनको जीवनभरी छ ।

हाल उनी Himani Trust-New York Bureau का Ambassador, Woodside on The Move संस्थाका Board of Director, SharGop Group का CEO/ Founder, Rotary Club of New York Queens तथा NRN NCC USA संस्थाको सचिवको भूमिकामा सक्रिय छन् ।

उनले मेहनत, धैर्य र इमान्दार स्वभावलाई आफूभित्र हुर्काइरहे । त्यसैले पुरस्कार र सम्मान उनको जीवनमा कहिल्यै कमी भएन। तर पाउने अपेक्षाले उनले कहिल्यै काम गरेनन् । र यही उनको फराकिलो सोच र शैलीले स्वदेश तथा विदेशमा रहेका हजारौं युवा उनका शुभचिन्तक बनेर उभिएका छन् ।

उनी माथि शुभचिन्तकको सप्रेम आशिर्वाद छ । उनको मनमा अठोट छ। आँखामा गन्तब्य छ। र त उनका पाइलाहरू  निरन्तर छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू