मंगलबार, १६ जुन, २०२६
20:09 | ००:५४

नेपालको सूचना प्रविधि विकासका लागि ढाकामा अन्तरक्रिया

नेपाली लिङ्क सेप्टेम्बर १, २०२३

ढाका – ढाकास्थित नेपाली राजदूतावासले सूचना प्रविधिको क्षेत्रमा नेपाल तथा बङ्गलादेशबीच सहयोग अभिवृद्धि गर्ने उद्देश्यले बिहीबार एक अन्तरक्रिया आयोजना गरेको छ ।

उक्त अन्तरक्रियालाई सम्बोधन गर्दै बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेश दुवैले सूचना प्रविधिको विकासमा जोड दिंदै आएको र दुई मुलुकबीच आपसी सहयोग अभिवृद्धि गर्न पर्याप्त सम्भावना रहेको बताए।

उनले नेपालमा सूचना प्रविधि क्षेत्रको विकाससंगै थुप्रै रोजगारी सृजना भएको भन्दै यो क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा पनि महत्वपूर्ण योगदान गरिरहेको बताए।

बंगलादेशी कम्पनी पठाओले नेपालमा र जेनेस सलुशन जस्ता कम्पनीहरुले बङ्गलादेशमा आफ्नो कार्यक्षेत्र विस्तार गरेको उनले स्मरण गरे। उनले शिक्षा, तालिम तथा पूर्वाधार विकास गर्नु पर्नेमा पनि जोड दिए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्तले नेपाल सरकारले आफ्ना अधिकांश सेवाहरु अनलाइनमार्फत उपलब्ध गराइरहेको बताए। उनले सूचना प्रविधि तथा साइबर सेक्युरिटी सम्बन्धी नयाँ विधेयक ल्याउन सरकारले काम गरिरहेको बताए। सहसचिव दत्तले सूचना प्रविधिको क्षेत्रमा बंगलादेश सरकारसंग सहकार्य गर्न नेपाल इच्छुक रहेको पनि बताए।

कार्यक्रमका प्रमुख अतिथि तथा बंगलादेश सरकारको सूचना विभागका सचिव मोहम्मद शम्शुल आरेफिनले नेपाल र बंगलादेशबीच सूचना प्रविधिको क्षेत्रमा सहयोग विस्तार गर्न अपूर्व मौका आएको बताए। उनले नेपालमा मौलाउँदो सूचना प्रविधि क्षेत्र र बंगलादेशमा जारी नव प्रवर्तनका प्रयासहरुले त्यस्तो सहयोगको आधारभूमि तयार गरेको बताए। उनले ज्ञान आदानप्रदान गर्न र साझेदारीका नयाँ क्षेत्रहरुको पहिचान गर्न पनि आग्रह गरे।

बंगलादेश एसोसिएसन अफ सफ्टवेयर एण्ड इन्फरमेशन सर्भिसेजका अध्यक्ष रसेल टी अहमदले बंगलादेश सरकारले सन् २००९ मा ‘डिजिटल बंगलादेश’ अभियान घोषणा गर्दा बंगलादेशले सूचना तथा सञ्चार प्रविधिमा आधारित सेवा निर्यात गरी झन्डै तीन करोड डलर आम्दानी गरेकोमा अहिले त्यस्तो आम्दानी वार्षिक एक अर्ब पचास करोड डलर पुगेको बताए।

उनले बंगलादेशी शिक्षण संस्थाहरुबाट वर्षेनी २५,००० आइटी स्नातकहरु उत्पादन हुने गरेको बताउंदै उनीहरुलाई थप प्रशिक्षण र कार्य अनुभव आवश्यक रहेको बताए। ‘हामी एउटै डुंगामा छौं। त्यसैले नेपाल र बंगलादेशबीच प्रतिस्पर्द्धा हैन, सहयोग आदानप्रदान हुनु पर्दछ’, उनले भने।

बेलायतमा मुख्यालय रहेको कम्पनी जेनेस सलुशनका संस्थापक तथा मुख्य प्राविधिक अधिकृत अन्जनी फुयालले नेपालको सूचना प्रविधि क्षेत्रले देशको कूल गार्हस्थ्य उत्पादन मा १.४ प्रतिशत तथा कूल वैदेशिक मुद्रा संचितिमा ५.५ प्रतिशत योगदान गरेको बताए।

उनले सन् २०२० मा नेपालको सूचना प्रविधि क्षेत्रले ३० करोड डलर भन्दा बढी आम्दानी गरेकोमा दुइ वर्षमै त्यस्तो आम्दानी बढेर ५१ करोड डलर नाघेको अनुमान गरिएको बताए।

उनले आफ्नो कम्पनीले नेपाल, बंगलादेश लगायत आठवटा मुलुकहरुमा काम गरिरहेको बताउंदै नेपाल तथा बंगालदेशबीच डिजिटल पूर्वाधार, इ–गभर्नेन्स, स्वास्थ्य, शिक्षा तथा साइबर सेक्युरिटी लगायतका क्षेत्रमा अनुसन्धान तथा सहकार्य अगाडि बढाउने सम्भावना रहेको बताए।

उनले नेपाली तथा बंगलादेशी अधिकारीहरुबीच अन्तरक्रियाको सहजीकरण पनि गरेका थिए।

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीज (नास आइटी) का महासचिव निर्देश द्वाले अन्तर राष्ट्रिय बजारमा नेपाली कम्पनीहरुको पहिचान र पहुँच बढ्दै गएको बताए।

उनले नेपालले बंगलादेशका ‘हाइटेक पार्क’ हरुबाट सिक्न सक्ने र दुवै देशका निजी एवं प्राज्ञिक क्षेत्रबीच सहयोग आदानप्रदानलाई प्रोत्साहन गर्नुपर्ने बताए।

कार्यक्रममा ढाकास्थित नेपाली दूतावासकी उप नियोग प्रमुख श्रीमती ललिता सिलवालले सबैलाई धन्यवाद दिइन्।

नास आइटी तथा जेनेस सलुशनसंगको सहकार्यमा ढाकास्थित नेपाली दूतावासले उक्त कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू