शनिबार, साउन १२, २०८१
06:44 | ११:२९

जेल पुगे ट्रम्प, दुई लाख डलर बुझाएर धरौटीमा छुटे

नेपाली लिङ्क अगस्ट २५, २०२३

न्यूयोर्क- अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् ।

फुल्टन काउन्टी जेलमा ३० मिनेटभन्दा कम समय बिताएका उनी दुई लाख डलर धरौटी बुझाएर रिहा भए ।

जेलका अधिकारीले लागूऔषध कारोबार, तस्करी, मदिराले मातेर सवारी हाँक्ने चालकलगायत अन्य फौजदारी अभियोग लागेकाहरूको औँठाछाप र टाउकोसहित अनुहारको तस्बिर लिने लज्जास्पद काम अमेरिकाको इतिहासमा पहिलोपटक पूर्वराष्ट्रपतिको फोटो लिएर भएको छ ।

यो लज्जास्पद क्षण अमेरिकाका लागि दुःखद भएको दक्षिणी क्यालिफोर्निया विश्वविद्यालय एनेनबर्ग स्कूल अफ कम्युनिकेसन्सका प्राध्यापक मार्टी कपलान बताउँछिन् । भविष्यमा इतिहासका पुस्तकहरूमा पूर्वराष्ट्रपति ट्रम्पको त्यो आपराधिक छवि स्थायी तस्बिर भएर रहने उनले टिप्पणी गरिन् ।

कानुन कार्यान्वयन गर्ने फुल्टन काउन्टी कार्यालयले अपराधको आरोप लागेका एक सामान्य नागरिकका रुपमा सार्वजनिक गरेको पूर्वराष्ट्रपतिको तस्बिरमा उनी निकै रिसाएको देखिन्छन् । हल्का खैरो पृष्ठभूमिमा खिचिएको तस्बिरमा उनले नीलो सूट, सेतो शर्ट र रातो टाई लगाएका छन् । उनको काँधको ठ्याक्कै माथि शेरिफको प्रतीक चिह्न पनि देखिन्छ ।

७७ वर्षीय पूर्वराष्ट्रपतिले आफू दोषी नरहेको दाबी गरेका छन् । यद्यपि उनीमाथि जर्जियामा जो बाइडेनले पाएको मतपरिणाम उल्ट्याउने प्रयास गरेको आरोप लगाइएको छ ।

जेलमा प्रहरीको रेकर्डमा राखिने ट्रम्पको आधिकारिक तस्वीर (मगशट) समेत जारी भएको छ । ट्रम्पको मगशट सार्वजनिक भएको यो पहिलो पटक भएको बीबीसीले जनाएको छ । उक्त मगशट ट्रम्पले ट्वीट गरेका छन् । सन् २०२१ को जनवरी ८ पछि उनले ट्वीट गरेको यो पहिलो पटक हो ।

ट्रम्पले आफूले केही गलत नगरेको र आफूमाथि निराधार आरोप लगाइएको उल्लेख गरेका छन् ।

जमानतमा रिहा भएर जर्जियाबाट फर्किने क्रममा पनि उनले आफूमाथि लगाइएका आरोपहरू राजनीतिक प्रेरित भएको र आफू निर्दोष भएको बताए ।

अर्बपति व्यापारी ट्रम्पलाई गत अप्रिलदेखि चार पटक आपराधिक रूपमा अभियोग लगाइएको छ तर उनी आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा भाग लिने दृढ निश्चयका साथ अघि बढेका छन् । जर्जियामा उनीमाथि जालसाजी गरेको, सरकारी अधिकारीलाई झुठा बयान दिन अभिप्रेरित गरेकोलगायत चार वटा मुद्दा दायर गरिएको छ ।

ट्रम्पले अदालत वा संघीय अधिकारी सामु आत्मसमर्पण गरेको यो चौथोपटक हो । यसअघि पनि आपराधिक मामलामा मुद्दा चलेपछि उनले तीनपटक आत्मसमर्पण गरेका थिए । अमेरिकी मिडियाहरुका अनुसार सन् २०२३ भन्दा अगाडिसम्म अमेरिकामा पूर्वराष्ट्रपतिमाथि यसप्रकारको घटना भएको थिएन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू