शनिबार, साउन १२, २०८१
02:39 | ०७:२४

एनआरएनए बेल्जियमको आपतकालिन राहत कोषमा झण्डै ७ हजार युरो प्रतिवद्धता

नेपाली लिङ्क अगस्ट १४, २०२३

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेल्जियमको बैठक अध्यक्ष श्रीमति सीता सापकोटाको अध्यक्षतामा गत १३ अगष्ट आइतबार लुभेनमा सम्पन्न भएको छ । उक्त कार्यसमिति बैठकमा संघका पूर्वअध्यक्षहरु, संघका आइसीसी सदस्यहरु, कार्यसमितिका सदस्यहरु र पदाधिकारीहरु गरि ३० जनाको विशेष उपस्थिति थियो ।

बैठकले गैरआवासीय नेपाली संघ बेल्जियमको वार्षिक गतिविधिहरु समेटेर वार्षिक क्यालेडर निर्माण गर्न संस्थाका उपमहासचिव राजेन्द्र कार्कीलाई जिम्मा दिने निर्णय गरेको छ ।

एनआरएनए बेल्जियमले स्थापना गर्ने आपतकालिन राहत कोष बृद्धि गर्न र संचालनका लागि कार्यविधि तयार गर्ने लगायत बेल्जियमस्थित विभिन्न सामाजिक संघसँस्थाहरुसंग समन्वय गरि परियोजना अघि बढाउन संस्थाकी अध्यक्ष श्रीमति सीता सापकोटालाई जिम्मेवारी दिने निर्णय गरिएको संघले जनाएको छ ।

बैठकमा कार्यसमितिका सदस्यहरुबाट सो कोषको लागि ६ हजार ६ सय ५३ युरोको प्रतिवद्धता प्राप्त भयो । दाताहरुको नामावली कोषाध्यक्ष अजित तुलाचनले पछि एकै पटक सार्वजनिक गर्ने निर्णय भएको छ ।

बैठकले गैरआवासीय नेपाली संघ बेल्जियमका कार्यसमितिका सदस्यहरुले संघको विधि विधान र परम्परालाई पालना गर्दै संस्थागत आचार संहिताको दायाराभित्र रहन बैठक समितिका सम्पूर्ण अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई अनुरोध गरेको छ ।

बेल्जियमस्थित विभिन्न संघसंस्थाद्वारा आयोजना हुने चार्ड पर्व तथा अन्य गतिविधिका लागि आर्थिक सहयोगको निवेदन आएमा त्यस्ता निवेदनको औचित्य हेरि संस्थाकी अध्यक्ष सीता सापकोटाले ३०० (तीन सय) यूरो सम्म दिन सक्ने र थप रकम आवश्यक भएमा कार्यसमितिभित्र छलफल गरेर मात्र आर्थिक सहयोग दिन सक्ने निर्णय भएको छ ।

बैठकले गैरआवासीय नेपाली संघको विधान अनुरुप बेल्जियमस्थित एनआरएनएका पंन्जिकृत सदस्यहरुको शुल्क संघको केन्द्रीय सचिवालयमा पठाउने निर्णय गरेको छ । संघका वर्तमान कोषाध्यक्ष अजित तुलाचन र निवर्तमान कोषाध्यक्ष लोकेन्द्र नेपाल (पुष्प) ले समन्वय गरेर तत्कालै सो रकम केन्द्रमा पठाउने निर्णय पनि गरिएको छ ।

गैरआवासीय नेपाली संघ बेल्जियमको नयां कार्यसमितिलाई स्थानीय निकाय अन्तरर्गत स्तात्सब्लडमा दर्ता गर्ने निर्णय पनि बैठकले गरेको छ । सो प्रकृयालाई तत्कालै महासचिव रुविना शर्माले समन्वय गरेर अघि बढाउने निर्णय गरिएको छ ।

हाल एनआरएनए बेल्जियमका तीन वटा बैंक खाता संचालनमा रहेको हुंदा मासिक बैंकिङ खाता शुल्क कटौती गर्नका लागि एक मात्र बैंक खाता संचालन गर्ने र सोही अन्तर्गत महिला तथा युवाका लागि सेमी खाता संचालनमा ल्याउन बैंकसंग परामर्श गरेर अघि बढ्ने निर्णय पनि बैठकले गरेको छ ।

गैरआवासीय नेपाली संघ बेल्जियमको कार्यसमिति बैठक बस्न नसकेको अवस्थामा आकस्मिक निर्णय गर्नु परेमा ती निर्णयहरु गर्न एक सचिवालयको गठन गरिएको छ । सो सचिवालयमा अध्यक्ष, उपाध्यक्षहरु, महासचिव, उपमहासचिव, सचिवहरु, कोषाध्यक्ष र सहकोषाध्यक्ष रहनेछन् ।

गैरआवासीय नेपाली संघको अगामी अक्टोवर १७ – २० काठमाण्डौंमा हुने महाधिवेशन तथा विश्व सम्मेलनमा एनआरएनए बेल्जियमले सकृय सहभागिता जनाउने र सो महाधिवेशनमा बेल्जियमबाट उम्मेदवार बन्ने सबै पदाधिकारीहरुलाई एक भएर सहयोग र समर्थन गर्ने निर्णय पनि बैठकको छ ।

गैरआवासीय नेपाली संघ बेल्जियमले अगामी २ वर्षभित्र बेल्जियममा एक अन्तराष्ट्रिय युवा सम्मेलन आयोजना गर्न आवश्यक अध्ययन प्रकृया अघि बढाउने निर्णय गरिएको छ । सो सम्मेलनकालागि आवश्यक गृहकार्य गर्न कार्यसमितिभित्र रहेका युवाहरु र संघको केन्द्रीय युवा संयोजकबीच आवस्यक छलफल गरेर अघि बढाउने निर्णय भएको छ ।

यस्तै बेल्जियममा रहेका नेपालीहरुका लागि मानसिक स्वास्थ्य सम्बन्धी जानकारी दिने उद्देश्यले संघको केन्द्रीय स्वास्थ्य समितिसंग समन्वय गरेर एक ‘भर्चुअल’ जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरिएको छ ।

न्यूज लेटर, नयां वेवसाइट लगायतका विषयलाई अघि बढाउन अगामी कार्यसमितिको बैठकमा पुनः छलफल गरेर निर्णय गर्ने सहमति भएको छ ।

बेल्जियममा रहेका महिलाहरुको सम्मेलन तयारी गर्न महिला उपाध्यक्ष श्रीमति सावित्री गिरीलाई जिम्मा दिने निर्णय भएको गैर आवासीय नेपाली संघ, बेल्जियमकी महासचिव रुविना शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू