शनिबार, साउन १२, २०८१
02:38 | ०७:२३

१४० वर्षपछि बेइजिङमा भीषण वर्षा

रासस/एएफपी अगस्ट २, २०२३

जलमग्न हेबेई प्रान्त । तस्बिर- सिन्हवा

बेइजिङ, १७ साउन–चीनको राजधानी बेइजिङलगायत आसपास क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि अत्यधिक भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् ।

बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो ।

राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो । राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सय जना विस्थापित भएका छन् ।

वर्षामा कमी आएसँगै नदीमा जलस्तर पनि घट्दै गएको छ । अधिकारीहरूले जोखिमसूचक तहबाट पानीको सतह तल झरेको बताएका छन् । साथै उनीहरूले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सूचना पनि हटाएका छन् ।

बाढीपहिरामा परी कम्तीमा २० जनाले ज्यान गुमाएका छन्भने केयौँ घाइते भएका छन् । राजधानीका एक लाख बाढीपीडितको उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकप्टरबाट खानेकुरा खसाएर सहयोग गरिएको थियो । साथै उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए । उद्धारका क्रममा मंगलबार दुई जनाले बेइजिङमा ज्यान गुमाएका बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू