शनिबार, साउन १२, २०८१
02:36 | ०७:२१

नाइजरमा सैन्य विद्रोह, राष्ट्रपति नियन्त्रणमा

रासस/एएफपी जुलाइ २७, २०२३

कर्णेल अमाडो अब्द्रामाने बुधबार राति टेलिभिजन सम्बोधन गर्दै

नियामे, ११ साउन–पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह भएको छ । सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको छ ।

सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि नियन्त्रणमा लिएको छ भने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ । सेनाले देशको सिमाना बन्द गरेको बताएको छ ।

राजधानी नियामेस्थित राष्ट्रपतिको निवास र कार्यालयसम्म जाने बाटो बन्द गरिएको छ भने बन्दी बनाइएका राष्ट्रपतिलाई रिहा गर्न सेनाले अस्वीर गरेको छ । गए राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्मका लागि ‘कफ्र्यु’ आदेश जारी गरिएको छ ।

“हामी, रक्षा र सुरक्षा बलहरूले राष्ट्रपति बाजुमको शासनको अन्त्य गर्ने निर्णय गरेका छौं,” अन्य नौ जना वर्दीधारी सैनिकबाट घेरिएका कर्णेल अमाडो अब्द्रामानेले बुधबार राति टेलिभिजन सम्बोधनमार्फत घोषणा गरे ।

विश्व तथा क्षेत्रीय नेताहरूले बाजुमलाई रिहा गर्न आह्वान गरेका छन् । दुई वर्ष अघि उनले नाइजरको सत्ता सम्हालेका थिए ।

छिमेकी बेनिनका राष्ट्रपति प्याट्रिस टालोन मध्यस्थता प्रयासका लागि नियामेतर्फ प्रस्थान गर्ने तयारीमा रहेको पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदायले जनाएको छ ।

राष्ट्रपति र उनको परिवार सकुशल रहेको सेनाले बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले सैन्य विद्रोहको निन्दा गर्दै राष्ट्रपति बाजुमलाई निःशर्त तत्काल रिहा गर्न आह्वान गरेका छन् ।

नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल रिहा गरी संवैधानिक व्यवस्था पुन: स्थापित गर्नुपर्ने संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ ।

‘नाइजरमा सैन्य कब्जाको प्रयासबाट म स्तब्ध र व्यथित छु र यसको कडा शब्दमा भत्र्सना गर्दछु’- संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनले भने “संवैधानिक व्यवस्था र विधिको शासन बहालीका लागि सबै प्रयास गर्नुपर्छ ।”

विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल र बिनाशर्त रिहा गरिनुपर्छ र उहाँको सुरक्षा सुनिश्चित गरिनुपर्छ । उहाँको सरकारका सदस्यहरू र उनीहरूका नातेदारहरूलाई स्वेच्छाचारी रूपमा हिरासतमा राखिएको र उनीहरूलाई पनि बिना कुनै पूर्वशर्त तत्काल रिहा गरिनुपर्छ ।”

उनले अगाडि भनेका छन्, ‘म सबै पक्षलाई हिंसाबाट टाढा रहन र सबैको अधिकार र मौलिक स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दछु । हालैका वर्षहरूमा प्राप्त महत्वपूर्ण लोकतान्त्रिक उपलब्धिहरूको रक्षा र संरक्षण गरिएको छ । यो नाइजरका सबै जनताको हितमा छ ।’

अफ्रिकी संघ र युरोपेली सङ्घले पनि सैन्य विप्लवको विरोध गर्दै राष्ट्रपति बाजुमको रिहाईको माग गरेका छन् ।

भूपरिवेष्ठित साहेल राज्य विश्वको सबैभन्दा गरिब र अस्थिर देशहरूमध्ये एक हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू