शनिबार, साउन १२, २०८१
02:36 | ०७:२१

पाकिस्तानमा नगद सङ्कट भएपछि साउदीबाट दुई अर्ब डलर सहयोग

रासस/एएफपी जुलाइ ११, २०२३

फाइल तस्बिर सिन्हवा

इस्लामाबाद, २६ असार–विदेशी मुद्रा सञ्चिति निरन्तर घटेर जटिल आर्थिक परिस्थितितर्फ उन्मुख भएको पाकिस्तानलाई मङ्गलबार साउदी अरबबाट दुई अर्ब डलरको निक्षेप प्राप्त भएको छ । देशको आर्थिक सङ्कटबाट जोगाउन अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग यसै महिना नयाँ सम्झौता अनुमोदन हुन लागेका बेला साउदीबाट प्राप्त सहयोगले इस्लामाबादलाई ठूलो राहत मिलेको छ ।

अर्थतन्त्र भुक्तान सन्तुलनको सङ्कटबाट ग्रस्त छ भने बाह्य ऋण सेवा प्राप्तिको प्रयास पनि असफल भएको छ । महिनौँको राजनीतिक अराजकताले विदेशी लगानी निरुत्साहित भएको छ । मुद्रास्फीति ह्वात्तै बढेको छ । पाकिस्तानी रूपैयाँ डलरको तुलनामा कीर्तिमानी न्यून विन्दुमा पुगेको छ । देशलाई आयात धान्न धौ धौ परिरहेको छ भने औद्योगिक उत्पादनमा गम्भीर गिरावट आएको छ ।

“साउदी अरबले पछिल्लो समय स्टेट बैंक अफ पाकिस्तानको खातामा थप दुई अर्ब डलर जम्मा गर्ने घोषणाअनुरूप बैंकको खातामा उक्त रकम जम्मा भएको छ,” पाकिस्तानका अर्थमन्त्री इशाक दारले पत्रकार सम्मेलनमा भने ।

स्ट्यान्डर्ड क्यापिटल सेक्युरिटीजका अनुसन्धान विश्लेषक फैसल शाजी पछिल्लो निक्षेपले पाकिस्तानको विदेशी मुद्रा सञ्चितिलाई स्थिर बनाउने र अन्तरराष्ट्रिय बजारमा यसको ‘क्रेडिट रेटिङ’मा सुधार आउने बताउँछन् । आईएमएफको सहायता कार्यक्रमका निमित यो ठूलो र सकारात्मक विकास भएको तर्क गर्दै उनले यसबाट पाकिस्तानको मुद्रा बलियो हुने र त्यसले शेयर बजारमा राम्रो प्रभाव दाबी गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू