शनिबार, जेठ ५, २०८१
16:05 | २०:५०

होन्डुरसमा लागूऔषधसम्बन्धी गोली काण्डमा ११ को मृत्यु, कर्फ्यु जारी

रासस-सिन्ह्वा जुन २६, २०२३

प्रतिकात्मक तस्बिर

तेगुसिगाल्पा, होन्डुरस, ११ असार- लागूऔषध तस्करहरूले बिलियर्ड हलमा ११ जनाको गोली हानी हत्या गरेपछि राष्ट्रपति सिओमारा क्यास्ट्रोले होन्डुरसको एक क्षेत्रमा आइतबार कर्फ्यु घोषणा गरेकी छन्। 

गरिबी, सामूहिक हिंसा र लागूपदार्थको ओसारपसारबाट ग्रस्त यस देशको दोस्रो ठूलो शहर सान पेड्रो सुला नजिकैको शहर चोलोमामा सामूहिक गोलीकाण्ड भएको थियो ।

राष्ट्रिय प्रहरीका प्रवक्ता मिगुएल मार्टिनेजका अनुसार हलमा जन्मदिन मनाइरहेका समय बन्दुकधारीहरु भित्र पसेर गोली चलाएपछि १० जना पुरुष र एक महिला गरी ११ जनाको मृत्यु भएको थियो । प्रत्यक्षदर्शीहरूले पूल हलमा रगताम्य शवहरूको भिडियो अनलाइनमा पोस्ट गरेका देख्न सकिन्छ । 

क्यास्ट्रोले ट्वीटरमा चोलोमा र सान पेड्रो सुलामा आइतबार राति ९ बजेदेखि बिहान ४ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको बताएकी छन् । 

कास्त्रोले सुला भ्याली भनिने समस्याग्रस्त क्षेत्रमा लागूऔषध कारोबारीद्वारा प्रशिक्षित र निर्देशित भाडाका हत्याराहरूले गरेको क्रूर र निर्मम आतङ्कवादी हमलापछि आफूले यस्तो कदम चालेको बताइन् । 

राजधानी तेगुसिगाल्पा नजिकैको एक कारागारमा प्रतिद्वन्द्वी समूहबीच भएको भिडन्तमा कम्तीमा ४६ महिलाको मृत्यु भएको एक हप्तापछि उक्त आक्रमण भएको हो ।

अधिकारी र प्रत्यक्षदर्शीका अनुसार ब्यारियो १८ समूहका सदस्यहरू प्रतिद्वन्द्वी मारा साल्भाट्रुचा (एमएस–१३) समूहको इलाकामा पसेर उनीहरूमाथि गोली प्रहार गरी आगजनी गरेपछि हिंसा भड्किएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू