आइतबार, जेठ ६, २०८१
01:19 | ०६:०४

कुवेतको संसदमा विपक्षीलाई बहुमत, एक मात्र महिला निर्वाचित

रासस/एएफपी जुन ७, २०२३

कुवेतका पूर्व सभामुख मार्जुक अल–घानीम जीतपछि आफ्ना समर्थकहरुसंग खुशी सांट्दै । तस्विर- एएफपी

कुवेत सिटी, २४ जेठ–कुवेतको संसदीय निर्वाचनमा यहाँको विपक्षी दलले बहुमत प्राप्त गर्न सफल भएको छ ।

एक दशकभन्दा बढी समयको अन्तरालमा भएको सातौँ आमनिर्वाचनमा विपक्षी दललाई बहुमत मिलेको हो । संसदमा एक जना मात्र महिला सांसद निर्वाचित भएकी छन् ।

निर्वाचनबाट धेरै सुधारहरूका लागि दबाब दिइरहेका इस्लामवादी र स्वतन्त्र राजनीतिज्ञहरू निर्वाचित भएका छन् ।

कुवेतको संवैधानिक अदालतले गत मार्चमा भएको निर्वाचनको परिणाम रद्द गरेको थियो । उक्त निर्वाचनमा पनि विपक्षीहरूले महत्वपूर्ण लाभ उठाएका थिए र सन् २०२० मा निर्वाचित अघिल्लो संसदलाई पुनः स्थापित गरेका थिए ।

कुवेतको सरकारी समाचार एजेन्सीले सार्वजनिक गरेको मत परिणामअनुसार विपक्षी सांसदले विधायिकाका ५० सिटमध्ये २९ सिटमा जित हासिल गरेका छन् । विपक्षी समूहका उम्मेदवार जनन बुशेहरीले संसदमा एकल प्रतिनिधित्व गर्ने भएका छन् ।

नयाँ संसद्को संरचना गत वर्ष निर्वाचित र पछि खारेज गरिएको संसद्सँग मिल्दोजुल्दो छ, जसका ५० मध्ये १२ जना बाहेक सबै सदस्यले आ–आफ्नो स्थान कायम राखेका छन् ।

यसले विधायिकाले फेरि एकपटक मन्त्रिपरिषद्सँग विवादमा फस्न सक्ने र राजनीतिक संकटलाई अझ गहिरो बनाउने र सुधारमा ढिलाइ भएको र आर्थिक वृद्धिमा बाधा पुरयाउन सक्ने चिन्ता उत्पन्न भएको छ ।

लामो समयदेखि सभामुख रहेका मार्जुक अल–घानीम र गत वर्ष उनको स्थानमा आएका अहमद अल–सादौन दुवै संसद्मा फर्किएका छन् ।

सावौनले फेरि सभामुखपदका लागि उम्मेदवारी दिने अपेक्षा गरिएको छ ।

“हामी आज सुधारवादी दृष्टिकोणको विजयको उत्सव मनाइरहेका छौं,” विपक्षी सांसद अदेल अल–दम्खीले परिणाम घोषणापछि सञ्चारकर्मीसँग भने, “निर्वाचन परिणामले कुवेती जनताको जागरुकताको संकेत गरेको छ ।”

सन् १९६२ मा कुवेतले संसदीय प्रणाली अपनाएदेखि नै करिब एक दर्जन पटक संसद् विघटन भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू