आइतबार, वैशाख २३, २०८१
15:10 | १९:५५

गैरआवासीय नेपाली संघलाई एकतावद्ध बनाउन आवश्यक: उपाध्यक्ष श्रेष्ठ

नेपाली लिङ्क मे १७, २०२३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष महेश श्रेष्ठले संघलाई एकताबद्ध बनाउन आवश्यक रहेकोमा जोड दिएका छन्। 

हाल युरोपका विभिन्न मुलुकको भ्रमणमा रहेका श्रेष्ठले एनआरएनए स्पेनले मंगलबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै आउँदो अक्टोबरमा काठमाडौँमा हुने विश्व सम्मेलनद्वारा संस्थालाई एकजुट गर्न आफूले प्रयास गरिरहेको बताए। 

‘नेपाल सरकारले मान्यता दिएको र परराष्ट्र मन्त्रालयमा दर्ता भएको एकमात्र संस्था एनआरएनए हो । यसमा भ्रम पर्नु पर्ने आवश्यक छैन,’ उनले भने ।

आफ्नो ट्रेड मार्क र लोगोको रक्षा गर्नु हरेक संस्थाको प्रमुख जिम्मेवारी हुने भएकाले यसबारे विवाद गर्न आवश्यक नरहेको पनि उनले बताए। 

नेपालमा नयाँ संविधान बनेको आठ वर्षसम्म पनि गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा नआउँदा संसारभरिका नेपालीहरु चिन्तित रहेको भन्दै श्रेष्ठले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन आफूहरुले सक्दो पहल गरिरहेको बताए।  


उपाध्यक्ष श्रेष्ठले वर्तमान कार्यसमितिमा तीनजना अध्यक्ष हुँदा बाहिरबाट हेर्दा केही असजिलो भए पनि संघभित्र काम गर्न समस्या नरहेको बताए । उनले आफूहरु लिन हैन, दिनको लागि एनआरएनएमा लागेको बताउंदै सामाजिक संस्थाकै रुपमा यसलाई अगाडि बढाउनु पर्ने बताए। 

प्रागमा आयोजित १५ औं युरोपेली क्षेत्रीय सम्मेलनमा भाग लिएर श्रेष्ठ स्पेन पुगेका हुन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू