आइतबार, जेठ ६, २०८१
22:01 | ०२:४६

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको पक्राउपछि पाकिस्तानभर प्रदर्शन

रासस/सिन्ह्वा मे ९, २०२३

इमरान खान समर्थकहरुले उनको पक्राउको विरोधमा लाहोरमा सडक अवरुद्ध गर्दै । तस्बिर एएफपी

इस्लामावाद, २५ वैशाख–पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको छ ।

महिनौँ लामो राजनीतिक सङ्कटपछि उनको गिरफ्तारी भएको हो । पाकिस्तानमा शक्तिशाली भूमिका रहेको सेनाले पूर्व अन्तर्राष्ट्रिय क्रिकेटरलाई उनको हत्याको षडयन्त्रमा एक वरिष्ठ अधिकारीको संलग्नता रहेको आरोप लगाएको केही घण्टापछि उनलाई पक्राउ गरिएको हो ।

खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका अधिकारीहरूले उनलाई पक्राउ गरेपछि समर्थकहरूलाई सडकमा आउन आग्रह गरेका थिए तर प्रहरीले चार जनाभन्दा बढी भेला हुन नपाइने आदेशलाई कडाइका साथ लागू गरिने चेतावनी दिएको छ ।

आन्दोलनका लागि पार्टीले गरेको आग्रहसँगै पीटीआई समर्थकहरूले राजधानी इस्लामाबाद, लाहोर र पेशावरसहित देशभरका शहरहरूमा भेला भएर सडक अवरुद्ध गरेका छन् ।

“इमरान खानलाई कादिर ट्रष्ट प्रकरणमा पक्राउ गरिएको छ,” इस्लामाबाद प्रहरीको आधिकारिक ट्वीटर अकाउन्टले भ्रष्टाचारको मुद्दालाई उद्धृत गर्दै भनेको छ ।

स्थानीय टिभी च्यानलमा प्रसारित भिडियोमा गत वर्ष हत्या प्रयासका क्रममा गोली लागेर घाइते भएका खानलाई इस्लामावाद उच्च अदालत परिसरभित्र अर्धसैनिक रेन्जरले बख्तरबन्द कारमा हातपात गरेको देखिएको छ ।

पीटीआईका अधिवक्ता अली बुखारीले एएफपीसँग भने, “जब हामी अदालतको बायोमेट्रिक कक्षमा उपस्थित हुन पुग्यौं, दर्जनौं रेन्जरहरूले हामीमाथि आक्रमण गरे । उनीहरूले उहाँलाई कुटपिट गरेर घिसार्दै बाहिर निकाले ।”  उनलाई कहाँ लगिएको हो भन्नेबारे तत्काल केही खुल्न सकेको छैन ।

खानको हत्याको षडयन्त्र रचेको आरोप लगाएपछि सेनाले उनलाई ‘आधारहीन आरोप’ नलगाउन चेतावनी दिएको एक दिनपछि खानलाई पक्राउ गरिएको हो ।

सन् २०१८ मा सत्तामा उनको उदयलाई समर्थन गर्ने तर गत वर्ष उनलाई सत्ताच्युत गर्ने संसदको अविश्वासको प्रस्तावअघि समर्थन फिर्ता लिएको शक्तिशाली सेनासँग खानको सम्बन्ध कति बिग्रिएको छ भन्ने कुरा सोमबार अबेर रातिको घटनाले स्पष्ट पारेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू