आइतबार, जेठ ६, २०८१
00:11 | ०४:५६

प्रागमा एनआरएनए युरोप क्षेत्रीय बैठक जारी, नागरिकता कार्यान्वयन हुन नसकेकोमा दुःख व्यक्त

नेपाली लिङ्क मे ६, २०२३

प्राग । गैरआवासीय नेपाली संघको १५ औँ युरोपेली क्षेत्रीय बैठक चेक गणतन्त्रको राजधानी प्रागमा शुक्रबार बेलुकादेखि शुरु भएको छ ।

संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका वरिष्ठ नेता सुबास नेम्बाङले उक्त बैठकको उद्घाटन गरे। उनले सबै नेपालीलाई एउटै छातामा अटाउन एनआरएनएको फोरम आवश्यक रहेको बताए। उनले नेपालमा राजनीतिक परिवर्तन आवश्यक रहेको तर भएका काम सबै गलत भएको भाष्य निर्माण हुँदा कसैलाई फाइदा नपुग्ने भन्दै कमीकमजोरी सच्याएर देशको उन्नतिका लागि सबै शक्तिबीच सहकार्य गर्न आग्रह पनि गरे ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले नेपालीलाई नेपालसंग जोड्ने एनआरएनएको अभियान हरेक अर्थमा सकारात्मक रहेको बताए। उनले एनआरएनए नागरिकताका लागि नेपाली कांग्रेस प्रतिवद्ध रहेको बताउंदै छ महिनाभित्र एनआरएन नागरिकता कार्यान्वयन नभए आफूले पनि आन्दोलनलाई साथ दिने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राजनीतिमा देखिएको आसन, भाषण, शासन र रासनको बढावाले विकृति ल्याएको बताउंदैतिनलाई त्यागेर समानताको संस्कृतिको विकास गर्न आग्रह गरे। उनले विदेशमा रहेका नेपालीहरुले पनि नयाँ संस्कार सिक्नु पर्ने आवश्यकता औंल्याउदै देशलाई परिवर्तन गर्न प्रवासबाट सकारात्मक सन्देश दिन अनुरोध गरे ।

जर्मनी र चेक रिपब्लिकका लागि नेपाली राजदूत रामकाजी खड्काले गैरआवासीय नेपाली संघले संयोजन गरेका कार्यक्रमहरुमा दूतावासले सधैं सहकार्य गर्दै आएको भन्दै युरोपमा नेपालीहरुले आर्जन गरेको ज्ञान र सीपको भन्डार वृद्धि हुँदै गएकाले नेपाललाई भविष्यमा सहयोग पुग्ने बताए ।

एनआरएनए आइसीसीका कार्यकारी अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपालीहरुका लागि छुट्टै एनआरएनए मन्त्रालय स्थापना गरेर प्रवासी नेपालीका समस्याको समाधान गर्न नेपाल सरकारसंग माग गरे । उनले संगठनलाई विधान तथा सदस्यहरुको भावना अनुसार चलाउनु पर्नेमा जोड दिए ।

‘एनआरएनहरुले आन्दोलन गर्नुपर्ने स्थिति नआओस्’

एनआरएनए आइसीसीका अध्यक्ष कुल आचार्यले एनआरएन नागरिकता लगायतका विषय सम्बोधन गर्न भएको ढिलाइले प्रवासका नेपालीले धेरै समस्या भोगिरहेको बताए ।

उनले संविधानमा उल्लेख भएको आठ वर्षसम्म पनि गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा आउन नसकेकोमा दुःख व्यक्त गरे। ‘एनआरएनहरुले आन्दोलन गर्ने हो भने देशको आर्थिक स्थिति कहाँ पुग्छ? प्रधानमन्त्रीले ६ महिनामा गर्छु भन्नु भएको छ। छिटो भन्दा छिटो गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याइयोस्,’ उनले भने। आफूहरुले दोहोरो नागरिकताको माग नछाडेको पनि उनले बताए।

१० वर्षको अवधिका लागि मान्य हुने एनआरएन कार्ड आफूसंग रहे पनि त्रिभुवन विमानस्थल अध्यागमनमा भिसा शुल्क तिर्नु परेको आचार्यले जनाए। ‘प्राविधिक कुरा गृह मन्त्रालयले इमिग्रेशन सम्म पठाउन सकेको छैन। सबै निकायमा सर्कुलर गर्न जरुरी छ’, उनले भने।

संघले सन् २०११ देखि उठाउंदै आएका सामाजिक सुरक्षा कोष शुरुवात गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिंदै उनले डलर एकाउन्टमा राखिएको रकम नेपालमा लगानी गर्न र फिर्ता लैजान पनि पाउनु पर्ने माग गरे ।

एनआरएनए युरोप क्षेत्रका संयोजक सन्तोष भट्टराईले अध्यक्षता गरेको उद्घाटन समारोहमा एनआरएनए चेक रिपब्लिकका अध्यक्ष यदुराम पन्थीले स्वागत गरेका थिए भने संघका पूर्व अध्यक्ष कुमार पन्त, युरोप क्षेत्रका संयोजक चिन्तामणि सापकोटा लगायतले शुभकामना दिएका थिए।

उद्घाटन सत्रको सञ्चालन एनआरएनए युरोप क्षेत्रका उपसंयोजकद्वय नवराज रोस्यारा र दयानिधि सापकोटाले गरेका थिए।

सम्मेलनमा अमेरिका, क्यानाडा, मध्यपूर्व, जापान, मलेसिया र नेपाललगायत विश्वका ३५ बढी मुलुकका ३ सय बढी प्रतिनिधिको सहभागिता छ । सम्मेलन समापन समारोहमा नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने कार्यक्रम छ । सम्मेलनमा संघका नियमित एजेण्डा लगायत नेपालमा १० अर्बको लगानी, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपालीलाई मताधिकार, सामाजिक सुरक्षा कोष लगायत विषयमा घनिभूत छलफल हुनेछ । यस्तै सम्मेलनमा संघको विधान, आन्तरिक एकता, सदस्यता वितरण र आगामी १५ औं विश्व सम्मेलन लगायतका विषयमा समेत छलफल हुनेछ ।

सम्मेलनको तेस्रो तथा अन्तिम दिन आइतवार नेपालमा १० अर्ब रुपैयां लगानी, नेपाली नागरिकताको निरन्तरता, भोटिङ राइट, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि ट्रान्सफर लगायत विषयमा छलफल हुनेछ । सम्मेलनको अन्त्यमा प्राग घोषणपत्र जारी गरिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू